उर्लाबारी । उत्तरी मोरङका पत्रकारहरूको साझा संस्था सञ्चार क्लब नेपालको अध्यक्षमा घनश्याम भण्डारी निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको २२औँ चुनावी साधारण सभाबाट भण्डारी अध्यक्षमा र संगिता राई कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
नयाँ कार्यसमिति चयनका लागि अध्यक्ष र कोषाध्यक्ष पदमा मात्र मतदान भएको थियो भने अन्य पदहरू सर्वसम्मत चयन गरिएको थियो ।
अध्यक्ष पदमा भण्डारीले ३२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी विजय धिमालले १७ मत प्राप्त गरेका छन् । अध्यक्ष पदतर्फ खसेको मतमध्ये १ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै कोषाध्यक्ष पदमा संगिता राईले ३३ मत प्राप्त गरी विजयी भइन् भने उनकी प्रतिस्पर्धी संझना राईले १६ मत ल्याइन्। ५९ सदस्यीय सञ्चार क्लबमा ५० मत खसेको थियो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा सुमन घिमिरे, महासचिवमा पुजन दास, सचिवमा दिपेन्द्र बराइली र सदस्यहरूमा खड्ग बेदना र छविलाल श्रेष्ठ सर्वसम्मत भएका छन्। निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका प्रमुख जयधर्म आचार्यले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले सबै पक्षलाई समेट्दै संस्थाको विकास र विस्तारमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्। साथै उनले सञ्चार क्लबको अधुरो भवन निर्माण कार्य पूरा गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन् ।
























