काठमाडौं। १४ जना सांसदलाई कारबाहीको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको संसद बैठक अवरुद्ध पारेका छ ।
सभामुख अग्नि सापकोटाको कार्यशैलीप्रति असन्तुष्ट रहेको एमालेले मंगलबार सुरुमै नाराबाजीसहित बैठक अवरुद्ध गरेको हो । आफूहरूले कारबाही गरेका १४ जना सांसद संसद बैठकमा सहभागी भएसम्म विरोध जारी रहने एमालेले जनाएको छ ।
अवरोधकाबीच केहीबेर चलेको बैठकमा केही अध्यादेशहरू पेश गरेर स्थगित गरिएको छ ।
प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गरिएको छ ।
त्यस्तै कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गरेका छन् । त्यसैगरी बडुले नै यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश पेश गरेका छन् ।
सभामुख अग्नि सापकोटाले बैठकमा राष्ट्रपतिले बैठक आव्हानसम्बन्धी पत्र पढेर सुनाए लगत्तै एमाले सांसदहरु उठेर रोस्ट्रम घेर्दै नाराबाजी गरेका थिए ।
अब अर्को बैठक आगामी मंगलबार दिउँसो १ बजे बस्ने छ ।























