उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पस हाताभित्र विद्यार्थीहरुमाथी भएको कुटपिटको निष्पक्ष छानविन गरी दोषीलाई कार्वाही गर्न माग उठेको छ ।
अनेरास्ववियू (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघ उर्लाबारी बहुमुखी क्याम्पस इकाई समितिले संयुक्त विज्ञप्ति जारी गर्दै क्याम्पस हाताभित्रै विद्यार्थी कुटिनु दुखद् विषय भएको उल्लेख गरेको छ । क्याम्पस प्रशासनलाई समेत उक्त घटनालाई गम्भिर रुपमा लिन र दोषीलाई चाँडो भन्दा चाँडो कानुनी दायरामा ल्याएर विद्यार्थीहरुको सुरक्षाको ग्यारेण्टी गर्न उनीहरुले माग गरेका छन् । क्याम्पस प्रशासनले एकलौटी तरिकाले अघि बढेकोप्रति पनि अनेरास्ववियू (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघ उर्लाबारी बहुमुखी क्याम्पस इकाई समितिले विरोध जनाएको छ । विद्यार्थीबाहेक अन्य सरोकार नै नभएका ब्यक्तिहरुलाई क्याम्पसमा प्रवेश गर्ने क्रममा कडाई नगर्न क्याम्पस प्रशासनको लाचारपन भएको उनीहरुको ठम्बाई छ ।























