कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्याको घटना अनुसन्धानका लागि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
हत्याको घटनापछि स्थानीय मनोज भण्डारीले पठाएको फोन संवादको अडियो मृतककी श्रीमती धर्मादेवी दासको फेसबुक म्यासेन्जरमा पठाउने युुवक पक्राउ परेका प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले ती युवकलाई आइतबार साँझ पक्राउ गरिएको र उनीमाथि अनुसन्धान शुरु गरिएको बताए । तर घटनामा उनको संलग्नताबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले नाम सार्वजनिक गरेको छैन ।
घटनामा संलग्नहरुको खोजी भइरहेको एसपी अधिकारीले जानकारी दिए । शुक्रबार साँझ घरबाट हिँडेका दास शनिबार साँझ जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा घाँटी काटिएको अवस्थामा मृत फेला परेका थिए । दासको हत्या भएको अडियो फेसबुक म्यासेन्जरमा आएपछि अर्जुनकी श्रीमती धर्मादेवी शनिबार बिहान घटनाबारे जानकारी गराउन प्रहरी चौकी अमरावती पुुगेकी थिइन् ।
आक्रोशित स्थानीय वासिन्दाले हत्यामा संलग्नलाई पक्राउको माग गर्दै आइतबार शव उठाउन मानेनन् । सोमबार भने स्थानीय जनप्रतिनिधिहरुको अगुुवाइमा गरिएको छलफलका क्रममा प्रहरीले दोषीलाई शीघ्र पक्राउ गरेर कारवाहीको दायरामा ल्याउने प्रतिबद्धतापछि पीडित पक्ष शव उठाउन सहमत भएको छ ।

जानकी गाउँपालिका ९ का वडाध्यक्ष खकेन्द्र भण्डारीले पीडित पक्ष घटनास्थलबाट दासको शव उठाउन सहमत भएको बताए । उनका अनुसार प्रहरीले अहिले मृतकको शव उठाउने तयारी गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पनि पीडित पक्ष शव उठाउन सहमत भएको बताए ।
अर्जुन दासको न्यायका लागि भन्दै स्थानीय वासिन्दा र आफन्तले ललित परियारको संयोजकत्वमा संघर्ष समिति गठन गरेका छन् । समितिले दोषीलाई कानूनबमोजिम सजाय हुनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारको जीउज्यान सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग अघि सारेको छ ।
जब बीभत्स हत्याको खबर लिएर श्रीमती रुँदै प्रहरी चौकी पुगिन
शनिबार दिउँसो जानकी गाउँपालिका ९ की धर्नादेवी दास हतास मनस्थितिमा प्रहरी चौकी अमरावती पुगिन् । फेसबुक म्यासेन्जरमा एक जना व्यक्तिको हत्या भएको ‘अडियो’ आएपछि उनी अत्तालिँदै प्रहरी कहाँ पुगेकी थिइन् ।
एक जना छिमेकीसँग भएको कुराकानी पाएपछि उनलाई शंका थियो, ‘कतै हत्या गरिएका व्यक्ति मेरै श्रीमान त होइनन् ?’ किनकी, श्रीमान अर्जुन दास पनि शुक्रबार अपरान्हदेखि नै बेपत्ता थिए ।
रुँदै श्रीमतीले दिएको अडियो पाएपछि अनुसन्धान गर्ने सुरसार गरिरहँदा प्रहरीले अमरावती सामुदायिक वनमा एक जनाको विभत्स अवस्थामा शव भेटिएको सूचना पायो । वनका पालेले जनप्रतिनिधिलाई शव भेटिएको जानकारी दिएपछि प्रहरीलाई बोलाउन वडाध्यक्षसहितको टोली चौकीमा पुगेको थियो।

‘जनप्रतिनिधिले पनि अडियोमा भनिएजस्तै अवस्थाको शव भेटिएको बताएपछि सामुदायिक वनमा गएर र्हेयौं, शव त अडियो दिने महिलाकै श्रीमानको भएको खुल्यो’ जिल्ला प्रहरी कार्यालय, कैलालीका एक अधिकृत भन्छन्, ‘प्रहरी पुग्दा टाउको र शरीर अलग अलग भएको अवस्थामा शव भेटिएको थियो ।’
कैलालीका डीएसपी वेदप्रकाश जोशीका अनुसार शव बरामद हुँदा रात परिसकेकाले बेलुकी घटनास्थललाई सुरक्षित गरेर राखियो । अनुसन्धानका क्रममा अर्जुनको धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि कपडा खोलेर रुखमा बाँधेको हुनसक्ने देखिएको जोशी बताउँछन् । उनी भन्छन्, ‘हात पनि पछाडि बाँधिदिएको देखिएको छ ।’
हत्या गरेर भारत भागेको दाबी
हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोमा आफूहरु हत्या गरेर रुपैडिया नाका हुँदै बैंग्लोर भागेको दाबी गरिएको छ । प्रहरीले यही अडियोको आधारमा अनुसन्धान अघि बढाएको छ ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार अडियोमा घाँटी र शरीर अलग–अलग गरिदिएको बताउने व्यक्ति जानकी गाउँपालिका–९ कै मनोज भण्डारी हुन् ।
‘उनले शनिबार बिहान अरुणका छिमेकी समेत पर्ने एक जना युवकको म्यासेन्जरमा आफूले हत्यापछि गरेको फोन वार्ताको अडियो पठाएका रहेछन्’ ती अधिकृतले भने । मृतककी श्रीमतीलाई हत्यापछिको अडियो पठाउने युवकलाई प्रहरीले पक्राउ जनाएको छ । ‘अडियो प्राप्त भएपछि नै घटनाको बारेमा जानकारी भएको हो,’ जोशीले भने । मृतक दासले लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीको अनुमान छ र त्यसकै कारण हत्या भएको हुनसक्ने भनिएको छ । मृतक सामान्य मजदूरी गर्ने गर्थे । भारतबाट उनी २० दिनअघि मात्रै कैलाली आएका थिए । उनका आमाबुबा पनि भारतमै थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय