काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा आज बुधबार बिहानैदेखि पानी परिरहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागमा मंगलबार रातिदेखि नै हिमपात हुँदा त्यस क्षेत्रका जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका अधिकांश स्थानमा दिनभरजसो नै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएको महाशाखाले जनाएको छ । महाशाखाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
भोलि बिहीबार भने मौसममा केही सुधार आउने अपेक्षा गरिएको छ । यद्यपि थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
पर्सि शुक्रबार मुलुकका एक वा दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।























