उर्लाबारी । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १९ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन भएको छ ।
नयाँ नेतृत्व चयनमा ठूलै कसरतपछि आजै सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । नेपाली कांग्रेसले अध्यक्षमा चिन्तामणि पौडेल, सदस्यमा मदनबाबु प्रसाई र लेखा सदस्यमा यामुना राई भाग पायो । अन्य केही कांग्रेसबाटै आकांक्षी देखिएपछि सदस्य पदमा मिलाउन समस्या भएको थियो । तर, अन्तिममा आकांक्षीले उम्मेद्वारी फिर्ता लिएपछि कुरा मिल्यो । त्यस्तै, एमालेले उपाध्यक्षमा प्रेम उपाध्याय, सचिबमा मेघराज श्रीपाली, कोषाध्यक्षमा तेजकुमारी खतिवडा, सदस्यमा हरिमाया राई र लेखा सदस्यमा चेतनाथ सिग्देल भागमा पर्नुभयो । त्यस्तै, माओवादी केन्द्रले कार्यसमिति सदस्य पदमा रुक्मिनी खनाल, जनता समाजवादी पार्टीले सदस्यमै रामकुमार राई, राप्रपाले सदस्यमै होमनाथ गौतमले भाग पाउनुभयो । त्यस्तै, नेकपा एकीकृत समाजवादीले पनि लेखा समिति संयोजकमा ढकबहादुर थापाको भाग पायो । संघीय लिम्बूवानलगायत साना दलले भने भाग पाएनन् । अधिकांश पदमा कांग्रेस र एमालेकै हालिमुहाली रह्यो भने सदस्य पदमा माओवादीलगायत अन्य पार्टीले चित्त बुझाउनु पर्यो ।
खानेपानीको सदस्यमा राप्रपा केन्द्र सदस्यदेखि कांग्रेसका वडा सभापतिसम्म
उर्लाबारी खानेपानीको निर्वाचन यस पटक रोचक रह्यो । राप्रपा केन्द्रीय सदस्य होमनाथ गौतम पनि खानेपानीको सदस्य बन्न पुग्नुभयो । पार्टी राजनीतिमा केन्द्रीय उचाई कायम गरिरहेका ब्यक्ति खानेपानीको सदस्यमै किन बस्नु पर्यो त ? की राप्रपामा अरु नेता कार्यकर्ता छैनन् ? यी यस्ता गम्भिर प्रश्न उब्जिएका छन् । त्यस्तै, सदस्य पदमा नेपाली कांग्रेस उर्लाबारी वडा नं. ७ का सभापति मदनबाबु प्रसाई पनि चयन हुनुभयो । उर्लाबारी रेडक्रसलगायत संस्थाको अध्यक्षसमेत रहनु भएका प्रसाई यस अघि उर्लाबारी खानेपानीको लेखा सदस्य हुनुहुन्थ्यो । त्यस्तै, लेखा समिति संयोजकमा नेकपा एकीकृत समाजवादी उर्लाबारीका नगरअध्यक्ष ढकबहादुर थापा आफैं अघि सार्नुभयो । पार्टीको कमाण्ड सम्हालिरहनु भएका थापा हाम्रो साकोसको पनि अध्यक्ष हुनुहुन्छ ।























