उर्लाबारी । पूर्वी मोरङको पयर्टकीय स्थल बेतिनी सिमसार असुरक्षित बन्दै गएको छ ।
उर्लाबारी–२ स्थित बेतिनी सामुदायिक वन हाताभित्र रहेको बेतिनी सिमसारमा युवाहरुबीच कुटाकुट हुँदा २ जना घाइते भएका छन् । मकर संक्रान्तिका दिन घुम्न गएका युवाहरुबीच विवाद उत्पन्न भई झगडा भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
युवाहरुबीच भएको झगडामा परी मोरङ कानेपोखरी–५ बस्ने वर्ष १७ का सुरज धिमाल र सोही वडा बस्ने वर्ष १९ का निमेश धिमाल घाइते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
शनिवार दिउँसो करिब २ बजेको समयमा भएको सो घटनामा कुटाई खाने निमेशको टाउकोमा र सुरजको मुखमा चोट लागेको थियो । घाईते दुवैको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचार पश्चात डिस्चार्ज भएको उर्र्लाारीका प्रहरी निरीक्षक राजाराम खड्काले बताएका छन् । निरीक्षक खड्का अनुसार कुटाई खाने युवाहरुले हालसम्म प्रहरीमा निवेदन नदिएको र युवाहरुबीच भएको झगडाको कारण खुलेको छैन । यद्यपी प्रहरीले भने कुटपिट गर्ने युवाहरुको समूहको खोजी गरिएको जनाएको छ । आन्तरिक पर्यटकको आर्कषणको रुपमा रहेको सो स्थानमा पूर्वी मोरङका झापा, इलाम, सुनसरी, पाचथर र धनकुटा सम्मका आगन्तुकहरु छुट्टीको समयमा रमाइलो गर्न सो स्थानमा आउने र मनोरञ्जन लिने गरेका छन् । तर, पछिल्लो समय सो स्थानमा भइरहने झगडाका कारण घुम्न आउने आन्तरिक पर्यटकहरुले असुरक्षित महशुस गर्ने गरेका छन् ।
उर्लाबारीको पहिचानको रुपमा रहेको सिमसार क्षेत्रको दृश्य अवलोकन गर्न दैनिक २ सयको हाराहारीमा आगन्तुकहरु आउने गर्दछन् । आगन्तुकहरुले २० को टिकट र १५ को पार्किङ शुल्क गरी प्रतिव्यक्ति ३५ रुपैयामा तिरेर प्रवेश गरेता पनि सिमसार क्षेत्रमा बन समितिले आवश्यक सुरक्षा मापदण्ड पुरा नगर्दा दुर्घटना हुने गरेको स्थानीयहरुको भनाई छ । यस विषयमा वनका अध्यक्ष भीम राईलाई सम्पर्क गर्दा फोन उठेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय