विराटनगर । मोरङको केराबारीस्थित खदम क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका सिमान्त लुइँटेल निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार भएको मनोनयनमा लुईटेल नेतृत्वको प्यानलले मात्रै उम्मेद्वारी दर्ता गरेपछि उनी निर्विरोध निर्वाचित भएको हो । क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारी र काँग्रेस निकट नेविसंघबीच गठबन्धन भएपछि अन्य संगठनले भने उम्मेद्वारी नै दर्ता गरेनन् ।
निर्वाचन समिति संयोजक खड्गबहादुर कार्कीका अनुसार शनिबार दुई बजेदेखि ४ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको थियो । त्यसअवधिमा एउटा मात्रै टिमको उम्मेद्वारी दर्ता भएको उनले जानकारी दिए । यसअघि क्याम्पसले चैत १ गते नै उम्मेद्वारी दर्ताको समय निर्धारण गरेको थियो । उक्त समयमा एमाले निकट अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरेपछि उम्मेद्वारी दर्ता हुन सकेको थिएन ।
क्याम्पस सञ्चालक समितिको बैठकले तालाबन्दी खोलेर उम्मेद्वारी दर्ताको नयाँ सूची प्रकाशन गर्दै चैत ५ गते नै निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको थियो । तोकिएको अवधिभित्र सभापतिमा क्रान्तिकारीका लुइँटेल, सचिवमा नेविसंघकी सिर्जना पोखरेल, कोषाध्यक्षमा क्रान्तिकारीकै सावित्रा विश्वकर्माको एकल उम्मेद्वारी परेको छ । सदस्यहरुमा क्रान्तिकारीका सुनिलकुमार रोक्का, नेविसंघका रितिका कार्की र स्वस्तिका कार्कीको उम्मेद्वारी दर्ता भएको निर्वाचन संयोजक कार्कीले जानकारी दिए ।
उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा भने आइतबार मात्रै हुनेछ ।























