
उर्लाबारी, ‘हाम्रो प्रत्येक गोल, लागुऔषध विरुद्धको बोल’ भन्ने नाराका साथ मोरङको उर्लाबारीमा जारी विद्यालय स्तरीय युथ १४ फुटबल प्रतियोगितामा भएको खेलमा नेबुला बोर्डिङ स्कुल र पार्लेन्स इन्टरनेशनल एकाडेमी बिजयी भएका छन् ।
उर्लाबारी नगरपालिकाको सहयोग र उर्लाबारी फुटबल क्लबको आयोजनामा उर्लाबारी–६ स्थित राधिका माविको खेलमैदानमा जारी प्रतियोगिताको आजको पहिलो खेलमा नेबुला बोर्डिङले शिशु शिक्षा सदन बोर्डिङ स्कुललाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित ग¥यो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । पहिलो खेलको म्यान अफ दी म्याच शिशु शिक्षा सदनका सोनाम थापा मगर घोषित भए ।
त्यस्तै, दोस्रो खेलमा पार्लेन्स इन्टरनेशनल एकाडेमीले ३–० गोलले प्रतिभा बोर्डिङ स्कुललाई पराजित ग¥यो । पार्लेन्सका अल्वट्रस राईले २ र कुनाल भण्डारीले १ गोल गरे । खेलको म्यान अफ दी म्याच पार्लेन्सका अल्बट्रस राई घोषित भए । उनलाई मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जीव बुढाथोकीले ट्रफी प्रदान गरे ।
नयाँ फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष दिपेन्द्र धिमालले जानकारी दिए । प्रतियोगिताबाट ३५ जना खेलाडी छनौट गरी २ वर्षसम्म नियमित प्रशिक्षण प्रदान गर्ने लक्ष्य रहेको उनले बताए । असार ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उर्लाबारीका २५ वटा विद्यालयको सहभागिता रहेको क्लबका कोषाध्यक्ष योगराज फागोले बताए । बिजेता र उपविजेतालाई क्रमशः ५१ हजार र ३१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिने सचिब घनश्याम भण्डारीले जानकारी दिए ।