उर्लाबारी । धिमालहरुको उद्गम स्थलको रुपमा मोरङको लेटाङ–१ राजारानीमा रहेको धिमाल ग्रामथानमा चौकीलाल धिमालको पांचौ स्मृति दिवस फलैंचा र घण्टी हस्तान्तरण गरिएको छ ।
उर्लाबारी–८ आमबारीका समाजसेवी स्व.चौकीलाल धिमालका परिवारले आइतबार धिमाल ग्रामथानलाई करिब एक लाख रुपैयां मुल्य बराबरको ११ थान फलैंचा र एक थान घण्टी हस्तान्तरण गरेको हो । धिमाल परिवारले एतिहासिक ग्रामथान पुगेर ११ थान सिमेण्ट फलैंचा र एक थान पित्तलको घण्टी सहयोग प्रदान गरेको छ । उक्त सामग्री स्व. धिमालकी श्रीमती इन्द्रकुमारी धिमालले लेटाङ–१ का वडाध्यक्ष विष्णुकुमार मगरलाई हस्तान्तरण गर्नुभयो ।
धिमाल समुदायको उद्गमस्थल राजारानीमा रहेको ग्रामथानमा स्व.चौकिलाल धिमाल जिवित छंदा पुजाआजा गरेपछि रोगमुक्त भएको कान्छी छोरी सविता धिमालले बताउनुभयो ।
स्व.धिमालका कान्छा छोरा वेदवहादुर धिमाल ‘दारासिङ’ ले आफ्नो बुवाले जीवनकालमा थुप्रै सामाजिक कार्यहरु गरेको स्मरण गराउनुभयो । त्यस अवसरमा धिमाल जातिय विकास केन्द्रका महासचिव मातृका धिमालले स्व.धिमालका परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो । त्यस अवसरमा स्व. धिमालका नाति अशोक धिमालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।























