उर्लाबारी । जेन जी आन्दोलनको भडकिलो रूपले उर्लाबारीलाई गहिरो क्षति पु¥यायो । सरकारी कार्यालयदेखि निजी संरचना जलेर खरानी भए । प्रशासनिक काम ठप्प बने, सर्वसाधारण त्रासमा परे । तर, यिनै विषम परिस्थितिमा नेतृत्वकारी भूमिकामा उभिनुभयो, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङ लिम्बू ।
क्षतिग्रस्त संरचनामध्ये इलाका प्रहरी कार्यालय उर्लाबारी पनि एक थियो । आन्दोलनपश्चात जलिसकेको भवन हेर्ने मात्र होइन, सफाइदेखि रंगरोगनसम्मका काममा साक्षात्कार लिन सकिने गरी लिम्बू स्वयं खटिनुभयो । उहाँको पहलमा प्रहरी कार्यालय पुनः सञ्चालनमा आयो । यसले प्रशासनिक सेवा र सुरक्षा संयन्त्रलाई पुनःस्थापित मात्र गरेन, सर्वसाधारणलाई अब फेरि सामान्य जीवनमा फर्किन सकिन्छ भन्ने आत्मविश्वास दिलायो ।
आन्दोलनपछि बजारमा कृत्रिम अभाव र अखाद्य वस्तुको बिक्री बढ्ने जोखिम थियो । त्यस्तो चुनौतीलाई न्यूनिकरण गर्न लिम्बू सक्रिय रहनुभयो । व्यवसायीहरूलाई सचेत गराउँदै उहाँले बजारमा नक्कली वा अखाद्य वस्तु नफैलियोस् भन्ने सुनिश्चित गर्न पहल गर्नुभयो । यसबाहेक, व्यापारी तथा सर्वसाधारणको सुरक्षाका लागि प्रहरीले गर्ने गस्तीलाई पनि उहाँले सहजीकरण गर्नुभयो भने रातको समयमा आफैं गस्तीमा खटिनुभयो । यसले बजारमा शान्ति र विश्वास फर्काउन सहयोग पु¥यायो । संकटको समयमा व्यवसायी मात्र नभई समाजका सबै क्षेत्रका मानिसलाई हातेमालो गर्न उहाँले आग्रह गर्नुभयो । ‘विषम परिस्थितिमा सबै एकजुट भएर अघि बढ्नुपर्छ,’ भन्ने उहाँको भनाइ आज उर्लाबारीभरि गुन्जिरहेको छ । तारामान सिरेङ लिम्बूले देखाएको नेतृत्व केवल संकट व्यवस्थापनमा सीमित छैन, यो उर्लाबारीलाई पुनःनिर्माण र पुनःस्थापनाको यात्रामा अघि बढाउने आशाको किरण हो । उहाँका पहलहरूले देखाएको छ— संकट जे भए पनि, सामूहिक हातेमालो र जिम्मेवार नेतृत्वले शहरलाई फेरि उभ्याउन सक्छ ।























