उर्लाबारी । धिमाल जातिय विकास केन्द्र उर्लाबारीले आफ्नो सांस्कृतिक परिकारको प्रवद्र्धनका लागि दमकमा चिचिरी गेन्द्रो दिवस गर्ने भएको छ ।
आज झापाको दमकमा पत्रकार सम्मेलन गरी आगामी माघ २७ गते देखि फागुन १ गतेसम्म ५ दिन चिचिरी गेन्द्रो दिवस गर्ने जानकारी दिएको हो । आयोजक समिति संयोजक शान्ति देवी धिमालका अनुसार फेष्टिबलमा २० ओटा स्टल रहने छन् भने ती स्टलमा विभिन्न जातिय खानाहरु विक्री तथा प्रदर्शन गरिने छ । फेष्टिबलमा आकर्षणका लागि दैनिक विभिन्न राष्ट्रिय कलाकालहरुको प्रस्तुती रहने जनाइएको छ । चिचिरी धिमाल समुदायमा विशेष प्रकारको चामलबाट पकाईने र गेन्द्रो पिठोबाट पकाईने परिकार हो । यीनैको नामबाट महोत्सवको नामाकरण गरिएको सचिवालय सदस्य अजितकुमार धिमालले जानकारी दिनुभयो । धिमाल समुदायका विभिन्न खाद्य परिकारहरुको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले फेष्टिबलको आयोजना गरिएको केन्द्रका अध्यक्ष लोकबहादुर धिमालले जानकारी दिनुभयो । दमक नगरपालिकाको मुख्य प्रायोजन रहने फेष्टिबललाई झापा तथा मोरङका विभिन्न स्थानीय तहले सहयोग गरेका छन् ।























