
महेन्द्रनगर, बैतडीको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
बैतडी प्रहरीले बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै भागरथी बलात्कार तथा हत्या प्रकरणमा संलग्न दोगडाकेदार गाउँपालिका–७ कै १८ वर्षीय दिनेश भट्टलाई औपचारिक रुपमा सार्वजनिक गरेको हो।
‘अहिलेसम्म प्राप्त तथ्यको आधारमा दिनेशको संलग्नता देखिन्छ। उनले एक्लै हत्या गरेको स्वीकारेका छन्’, डीआईजी उत्तमराज सुवेदीले भने, ‘थप अनुसन्धान भइरहेको छ। अनुसन्धान सकेर सबुत प्रमाणसहित अदालतमा पेश गर्छौँ।’
आरोपी दिनेशमाथि करणी तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ। गत माघ २१ गते बुधबारका दिन सनातन धर्म माध्यमिक विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी भागरथीको अर्को दिन बेलुका घर नजिकैको लबलेक सामुदायिक वनमा शव भेटिएको थियो।