
उर्लाबारी । झापाको दमक–१० स्थित सिंहदेबी माध्यमिक विद्यालयका १८ जना विद्यार्थीहरुलाई खगेन्द्र पदमरत्न छात्रबृत्ति प्रदान गरिएको छ ।
मंगलबार एक कार्यक्रमका बीच दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले छात्रबृत्तिवापतको रकम र प्रमाणपत्र विद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन् । आफ्ना बुवाआमाको नाममा उर्लाबारी क्षेत्रका ब्यवसायी तथा उर्लाबारी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष विनोद न्यौपानेले उक्त छात्रबृत्ति कोषको स्थापना गरी २०६७ सालदेखि निरन्तर विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्दै आएका छन् ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उपप्रमुख अधिकारीले शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिका लागि रहेको बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न सामुदायिक विद्यालयहरु अग्रसर रहनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा दमक नगरपालिका वडा नं. १० का वडाध्यक्ष बोधराज न्यौपाने, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, विद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद सुवेदी, छात्रबृत्ति अक्षयकोषका संस्थापक विनोद न्यौपानेलगायतले बोल्नुभयो । उहाँहहरुले बिद्यार्थीहरुलाई अध्ययनलाई पहिलो प्राथमिकता राखेर अघि बढ्न सुझाव दिनुभयो । नीजि बिद्यालयको तुलनामा सामुदायिक विद्यालयहरुपनि रहेको उल्लेख गर्दै सामुदायिक बिद्यालयको गुणस्तर बृद्धिमा ध्यान दिनु पर्नेमा उहाँहरुको जोड छ । सोही अवसरमा विद्यालयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत तथा पूर्व शिक्षकहरुलाई सम्मान गरिएको छ ।