उर्लाबारी । अनलाइनखबरले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सार्वजनिक गरेको ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा उर्लाबारीका सञ्जन गौतम पनि परेका छन् । उर्लाबारी–१ निवासी २८ वर्षीय सञ्जन गौतम ‘सीआरसेभेन होरा’ नामक यूट्युब च्यानलमार्फत पब्जी स्ट्रिमिङ गर्दै चर्चामा आएका हुन् । सन् २०२१ मा च्यानल सुरु गरेका सञ्जनले सबैभन्दा छिटो १ लाख सब्सक्राइबर पुग्ने नेपाली यूट्युबरको कीर्तिमान बनाएका थिए । हाल उनी मासिक ८ देखि १० लाख रुपैयाँसम्म पब्जीबाटै कमाइ गर्छन् । कहिलेकाहीं यो रकम १५ लाख रुपैयाँसम्म पुग्ने गरेको उनी बताउँछन् । ब्रान्ड इन्डोर्समेन्ट, च्यारिटी स्ट्रिमिङ र आफ्नै गेमिङ टिम ‘होरा ईस्पोर्टस्’मार्फत पनि उनको आम्दानी उल्लेख्य छ ।

कक्षा १२ पछि गलत संगतमा परेका सञ्जन गाँजा, चुरोट आदिमा अल्झिएका थिए । पछि परिवारको सल्लाहमा कोरियन भाषा पढ्न थाले तर १ अंकले परीक्षा पास गर्न सकेनन् । विदेश जाने सपना अधुरै रहेपछि उनले समय कटाउन थालेका पब्जीमै करिअर देख्न थाले । सञ्जनले सन् २०२३ मा ‘होरा ईस्पोर्टस्’ नामक टिम गठन गरे । यसअघि उनी चर्चित नेपाली टिम डीआरएससँग आबद्ध थिए । आफ्नै टिम बनाइसकेपछि पहिलोपटकमै उनले पब्जी विश्वकपमा सहभागिता जनाउन सफल भए ।
हालै साउदी अरेबियामा सम्पन्न पब्जी मोबाइल विश्वकपमा ‘होरा ईस्पोर्टस्’ले नवौं स्थान हासिल गर्दै १ लाख २७ हजार ५०० अमेरिकी डलर (करीब १ करोड ७८ लाख रुपैयाँ) जितेको थियो । यसअघि काजखस्तानमा सम्पन्न पीएमएसएल सीएसएमा दोस्रो स्थान हासिल गर्दै विश्वकपको यात्रा तय गरिएको थियो । पब्जीबाट कमाएको पैसाले उनले आफ्नै घर बनाएका छा्, परिवारका सदस्यलाई विदेशबाट स्वदेश फर्काएका छन् । झन्डै ६० लाख लगानीमा काठमान्डौंमा क्याफे सञ्चालनमा ल्याएका छन् । उसो त उनी सामाजिक सेवामा पनि गौतम अग्रसर छन् । हालसम्म उनले च्यारिटी स्ट्रिमिङमार्फत झण्डै ५० लाख रुपैयाँभन्दा बढी सहयोग वितरण गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय