
उर्लाबारी, १६ औं विश्व योग च्याम्पियनसिप र एसियन कप योग प्रतियोगितामा पदक विजेता उर्लाबारीस्थित नमुना बाल गृहका खेलाडीलाई उर्लाबारी वडा नम्बर ३ ले विशेष सम्मान गरेको छ।
मंगलबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमबीच भारतको नयाँ दिल्लीमा सम्पन्न एसियन कप योग प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई १० पदक दिलाउने र मलेशियामा सम्पन्न विश्व योग च्याम्पियनसिपमा उत्कृष्ठ बालगृहका खेलाडीहरूलाई सम्मानित गरिएको हो।
खेलाडीहरूलाई फूलमाला, ढाका टोपी, सम्मानपत्र र ट्रयाकसुट प्रदान गरी सम्मान गरिएको थियो।
यस्तै सो अवसरमा वडाध्यक्ष बुढाथोकीले बालगृहलाई एक थान फायर एक्स्टिङ्गुइशर समेत हस्तान्तरण गरेका छन् । बालगृहका सञ्चालक प्रलाद थापाले धन्यवाद ज्ञापन गर्दै यस्ता सम्मानले खेलाडीहरूलाई अझ प्रेरित गर्ने विश्वास व्यक्त गरे।
विश्व शान्ति तथा आध्यात्म विज्ञान समाज कोशी प्रदेश संयोजक रुद्रबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा वडा खेलकुद विकास समिती संयोजक सुमन श्रेष्ठ, वडा सदस्य कृष्णकुमारी विक, नमुना बालगृहका सल्लाहकार संयोजक जयधर्म आचार्य, अस्थाई प्रहरी चौकीका असई विष्णुबहादुर कटुवाल, उर्लाबारी रनर ग्रुपका संयोजक प्रभु राई, मंगलबारे भेष्ट्रान क्लबका अध्यक्ष राजन सुवेदी , टोल विकास समितीका पदाधिकारीलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले मन्तव्य राख्दै बालगृहबाट प्रारम्भ भएको यात्रा अन्तर्राष्ट्रिय सफलतासम्म पुग्नु गौरवको विषय भएको बताउदै बालगृहको उन्नयनमा सबैको ध्यानाकर्षण हुनुपर्ने औंल्याए ।
उक्त कार्यक्रममा प्रशिक्षक फुर्पुर्ति शेर्पाको मार्गदर्शनमा रहेका खेलाडीहरु क्रमश: स्वेच्छा थापा ( मलेसियामा २ रजत), किरण मगर (मलेसियामा १ कास्य), जय चौधरी (भारतमा ४ रजत, १ कास्य), सुन्दर सार्की (१ कास्य) र चाँदनी परियार (३ रजत) सम्मानित भएका हुने । उनीहरु नेपालकै स्वर्ण पदक विजेता खेलाडी समेत हुन्।
नगर प्रवक्ता समेत रहेका वडाध्यक्ष बुढाथोकीले सो अवसरमा बोल्दै योगको माध्यमबाट बालगृहका खेलाडीहरूले उर्लाबारीलाई मात्र नभए सिंगो देशलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउनु सबैका लागि गर्वको कुरा भएको बताए । यस्तै उनले स्वर्ण जित्न मेहनत, धैर्यता र ईमान भए जो कहिले सक्ने जनाउदै बालगृहका जित सबैकाे प्रेरणाकाे स्राेत भएको बताए ।उनले आगामी दिनमा वडा र नगरपालिकाबाट आवश्यक सहयोग निरन्तर रहने बताए ।
वडा सचिव बालकुमार बरालले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य खेलकुद संयोजक सुमन श्रेष्ठले राखेका थिए । वडाले आयोजना गरेको सो कार्यक्रममा वडाध्यक्ष भिष्मराज बुढाथोकीको अध्यक्षता रहेको थियो ।