राष्ट्रिय दलित कर्मचारी समाज नेपाल, मोरङको पहिलो जिल्ला अधिवेशन विराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन बेदनिधि कार्कीढोलीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि माननीय प्रदेश सांसद सपना परियार रहनुभएको थियो। प्रमुख अतिथिको आसनबाट बोल्दै सांसद परियारले दलित समुदायका कर्मचारीहरूको हक–हित, अधिकार र समावेशी सहभागिताका लागि संगठनले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। उहाँले आगामी दिनमा संगठन अझ सशक्त, प्रभावकारी र अधिकारमुखी रूपमा अघि बढोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
अधिवेशनमा राष्ट्रिय दलित कर्मचारी समाज नेपालका केन्द्रीय अध्यक्ष जयबहादुर विश्वकर्मा विशिष्ट अतिथिका रूपमा सहभागी रहनुभएको थियो। उहाँले संगठनको स्थापना उद्देश्य, हालसम्मको संघर्ष र भावी कार्यदिशाबारे प्रस्ट पार्दै दलित कर्मचारीहरूको एकता, संगठनात्मक मजबुती र निरन्तर संघर्ष अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी प्राध्यापक तथा कानुन व्यवसायी जयराम सुन्दास अतिथिका रूपमा सहभागी रहँदै दलित समुदायका कर्मचारीहरूका लागि कानुनी सचेतना, अधिकार संरक्षण तथा कर्मचारी आन्दोलनमा दलितको भूमिकाबारे महत्वपूर्ण मन्तव्य राख्नुभयो।
कार्यक्रमको उद्घोषण भरत विश्वकर्माले गर्नुभएको थियो। अधिवेशनले बेदनिधि कार्कीढोलीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ।
नवगठित जिल्ला कार्यसमितिले दलित कर्मचारीहरूको हक–अधिकारको संरक्षण, संगठन विस्तार, समावेशी सहभागिता र सामाजिक न्यायका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।























