रमिते, पूर्वी नेपालको उदाउँदो पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित रमितेमा करिब ४ करोड ५० लाख रुपैयाँको लगानीमा ‘सेवायो होटल–२’ निर्माण भइरहेको छ ।
पर्यटकको बढ्दो आगमनलाई लक्षित गर्दै निर्माणाधीन होटल आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम तीव्र गतिमा अघि बढाइएको छ । होटलका सञ्चालक प्रकाश देवानका अनुसार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भवन निर्माणसँगै आन्तरिक सजावट, कोठा व्यवस्थापन, रेष्टुरेन्ट, विद्युत्, खानेपानी तथा अन्य आवश्यक पूर्वाधारको काम एकसाथ भइरहेको उहाँको भनाई छ । ‘रमितेमा पछिल्लो समय पर्यटकको आकर्षण उल्लेखनीय रूपमा बढेको छ । यही सम्भावनालाई मध्यनजर गर्दै सुविधा सम्पन्न होटल निर्माण गरिरहेका छौँ । दुई महिनाभित्रै सञ्चालनमा ल्याउने लक्ष्य छ,’ सञ्चालक देवानले भन्नुभयो । निर्माणाधीन होटलमा २५ वटा सुविधा सम्पन्न कोठा रहनेछन् । पारिवारिक भ्रमण, समूहमा आउने पर्यटक, सरकारी तथा निजी संस्थाका कार्यक्रम, आन्तरिक तथा विदेशी पर्यटकलाई लक्षित गरी होटलको डिजाइन तयार गरिएको छ । आधुनिक आवास सुविधासँगै व्यवस्थित रेष्टुरेन्ट, पार्किङ, मनोरम दृश्यावलोकन गर्ने खुला स्थान तथा आरामदायी वातावरणको व्यवस्था गरिने जनाइएको छ ।
होटलमा नेपाली परिकारसँगै स्वदेशी तथा विदेशी खानाका विभिन्न परिकार उपलब्ध गराइने सञ्चालक देवानले जानकारी दिनुभयो । स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिँदै अर्गानिक खानाको व्यवस्था गर्ने योजना समेत रहेको उहाँको भनाई छ । यसले स्थानीय किसानको उत्पादनलाई बजार उपलब्ध गराउनुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । सडक पहुँचमा सुधार आएपछि रमिते पुग्ने आन्तरिक पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको छ । त्यससँगै होटल, रेष्टुरेन्ट, क्याफे तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा निजी क्षेत्रको लगानी पनि बढ्न थालेको छ । सेवायो होटल–२ यस क्षेत्रकै हालसम्मको ठूलो निजी लगानीमध्ये एक मानिएको छ । स्थानीयका अनुसार रमितेमा पर्यटकको चहलपहल बढे पनि पर्याप्त आवास सुविधाको अभाव रहेको थियो । विशेषगरी रात बिताउन चाहने पर्यटकले सहज होटल नपाउँदा फर्किनुपर्ने अवस्था रहने गरेको थियो । नयाँ होटल सञ्चालनमा आएपछि त्यो समस्या धेरै हदसम्म समाधान हुने विश्वास गरिएको छ । होटल सञ्चालनमा आएपछि स्थानीय युवाले रोजगारीको अवसर समेत प्राप्त गर्नेछन् । होटल व्यवस्थापन, रेष्टुरेन्ट सेवा, सरसफाइ, सुरक्षा, यातायात तथा अन्य सेवा क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।
























