राजधानी काबुलबाहेक प्रमुख सहर तालिबानको कब्जामा, राजीनामा गर्न राष्ट्रपतिमाथि दबाव
काठमाडौं, साउन ३१। अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुलतर्फ तीव्र रूपमा अगाडि बढ्दै गर्दा त्यहाँ तनाव चुलिँदो छ। लडाकुहरूले पूर्वी सहर जलालाबादमाथि आइतवार बिहानै नियन्त्रण कायम गरेका छन्।
योसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ। अर्को महत्त्वपूर्ण उत्तरी सहर मजार-ए-शरिफमाथि कब्जा जमाएको भोलिपल्ट लडाकुहरूले पछिल्लो सफलता हासिल गरेका हुन्।
बिबिसीका अनुसार सरकारी फौजहरूको विफलतासँगै राष्ट्रपति अशरफ गनीमाथि राजीनामा गर्न दबाव बढ्दो छ।
यसैबीच, संयुक्त राज्य अमेरिकाले तनावग्रस्त अफगानिस्तानबाट आफ्ना नागरिकहरूको उद्धार गर्नका निम्ति पाँच हजार फौज पठाउन लागेको जनाएको छ।
अफगानिस्तानबाट आफ्ना फौज फिर्ता बोलाएकोमा चर्को आलोचना खेपिरहेका राष्ट्रपति जो बाइडनले कुनै देश द्वन्द्वको मध्यमा रहेका बेला त्यहाँ अन्तहीन अमेरिकी उपस्थितिलाई आफूले सही साबित गर्न नसक्ने बताएका छन्।
एउटा लिखित वक्तव्यमा उनले भनेका छन्, यदि अफगान सैनिकले आफ्नो देशलाई नियन्त्रणमा राख्न सक्दैन्थ्यो वा राख्दैन्थ्यो भने अर्को पाँच वर्षसम्म पनि अमेरिकी फौज त्यहाँ रहेर कुनै फरक पर्दैन्थ्यो।
आफ्ना पूर्ववर्ती राष्ट्रपति डोनल्ड ट्रम्पले फौज फिर्तीका लागि तोकेको म्याद र फौजको सङ्ख्या घटाएर नगन्य बनाउने निर्णय आफूमाथि आइपरेको बाइडनले उल्लेख गरेका छन्।























