मोरङको मिक्लाजुङ गाउँपालिका–७ का ६२ वर्षीय पशुपति घिमिरे नेपाली चुनावी इतिहासका अनौठा पात्रमध्ये एक हुन्। २०४३ सालदेखि निरन्तर निर्वाचनमा उम्मेदवारी दिँदै आएका घिमिरे यसपटक पनि प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। उनको चुनाव चिन्ह छ — कैची।
चार दशकभन्दा लामो राजनीतिक यात्रामा उनले प्रधानपञ्चदेखि गाउँपालिका उपाध्यक्ष, अध्यक्ष हुँदै प्रतिनिधिसभा सदस्यसम्म गरी ८ पटक चुनाव लडिसके। तर, नतिजाले भने कहिल्यै उनको पक्षमा साथ दिएन। हारैहारका बाबजुद उनी रोकिएका छैनन्। बरु भन्छन् — “जित हारभन्दा पनि जनताको बीचमा आफ्ना कुरा राख्नु ठूलो कुरा हो। बाँचुन्जेल चुनाव लडिरहन्छु।”
घिमिरेको घरदैलो शैली फरक छ। न ठूलो तामझाम, न ठूलो प्रचार टोली। आफैँ हिँड्छन्, आफैँ परिचय दिन्छन्, आफैँ आफ्ना योजना सुनाउँछन्। गाउँका पुराना मतदाता उनलाई “नछोड्ने उम्मेदवार” भनेर चिन्छन्। उनी भन्छन्, “राजनीति पेशा होइन, प्रतिबद्धता हो। जित्नैपर्छ भनेर मात्र होइन, विकल्प दिन पनि उम्मेदवारी चाहिन्छ।”
पार्टीगत राजनीतिभन्दा बाहिर रहेर स्वतन्त्र रूपमा चुनाव लड्दै आएका घिमिरे आफूलाई स्थानीय मुद्दाको प्रतिनिधि बताउँछन्। विकास, सुशासन र स्थानीय उत्पादनको बजारीकरण उनका मुख्य एजेन्डा हुन्। ठूला दलप्रति जनविश्वास घट्दै गएको दाबी गर्दै उनी मतदातालाई “व्यक्तिलाई हेरेर मत दिन” आग्रह गर्छन्।
परिवारले हारका श्रृंखलापछि विश्राम लिन सुझाव दिए पनि उनले चुनावी मैदान नछोड्ने अडान राखेका छन्। छिमेकीहरू भन्छन् — “उहाँ हारेर निराश हुँदैनन्, फेरि अर्को चुनावमा झन् सक्रिय देखिन्छन्।”
धेरैका लागि चुनाव जित्ने माध्यम हो, तर पशुपति घिमिरेका लागि चुनाव विश्वासको निरन्तर अभ्यास बनेको छ। परिणाम जेसुकै आओस्, मतपत्रमा आफ्नो नाम देखिरहने उनको चाहना अझै उस्तै छ। यसपटक पनि उनी मतदाताको घरदैलोमा पुगेर उही पुरानै वाक्य दोहोर्याइरहेका छन् —“म जित्न मात्रै होइन, विकल्प देखाउन उठेको उम्मेदवार हुँ।”
























