सविन विष्ट

भोजपुर — बढ्दो जनसंख्या, स्वस्थ तथा गुणस्तरीय खाद्यान्नको माग र आधुनिक कृषि प्रविधिको विकाससँगै कृषि तथा पशुपन्छी व्यवसायको महत्त्व दिनप्रतिदिन बढ्दै गएको छ। यही सम्भावनालाई अवसरका रूपमा उपयोग गर्दै भोजपुरको पौवादुङमा गाउँपालिका–३ का युवा व्यवसायी सन्दीप कोइराला ले कृषि तथा पशुपन्छी व्यवसायलाई आम्दानीको भरपर्दो माध्यम बनाउँदै स्वदेशमै सफल उद्यमी बन्ने प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।

प्राविधिक पृष्ठभूमि भएका कोइरालाले आफ्नो परिवारले सञ्चालन गर्दै आएको व्यवसायलाई निरन्तरता दिँदै वि.सं. २०७१ सालमा गङ्गा जमुना कृषि तथा पशुपन्छी उद्योग दर्ता गरेका हुन्। करिब १० देखि १५ लाख रुपैयाँ लगानीमा १०–१५ वटा गाई, भैँसी र बाख्राबाट सुरु गरिएको फर्म अहिले विस्तार भई बंगुर पालन तथा करिब ३०० भन्दा बढी ब्रोइलर र लोकल कुखुरा पालनसम्म पुगेको छ।

गाउँको सानो क्षेत्रमा सञ्चालन भइरहेको यस उद्योगबाट उत्पादन हुने ब्रोइलर र लोकल कुखुराको मासु तथा अण्डा स्थानीय बजारमा बिक्री हुने गरेको छ। गुणस्तरीय उत्पादन र नियमित आपूर्तिका कारण स्थानीय उपभोक्ताको विश्वाससमेत जित्न सफल भएको कोइराला बताउँछन्।

व्यवसाय सञ्चालनका क्रममा ढुवानीको समस्या, बढ्दो महँगी, पशुपन्छीमा देखिने विभिन्न रोग, बजार मूल्यको उतारचढाव तथा उत्पादन लागत वृद्धि जस्ता चुनौतीहरू भए पनि उनले वैज्ञानिक व्यवस्थापनलाई प्राथमिकतामा राखेका छन्। आफैँ प्राविधिक भएकाले आवश्यक परामर्श, सरसफाइमा विशेष ध्यान, गुणस्तरीय दाना र उचित व्यवस्थापनका माध्यमबाट व्यवसायलाई निरन्तर विस्तार गर्दै आएको उनको भनाइ छ।

हाल यस उद्योगबाट वार्षिक २ देखि ३ लाख रुपैयाँ खुद नाफा भइरहेको कोइरालाले जानकारी दिए। साथै, फर्मबाट उत्पादन हुने गोठेमल आफ्नै खेतबारीमा प्रयोग गर्नुका साथै बिक्रीसमेत गर्ने गरिएको छ, जसले अतिरिक्त आम्दानीका साथै जैविक खेतीलाई पनि प्रोत्साहन दिएको छ।

कोइरालाका अनुसार कृषि तथा पशुपन्छी व्यवसाय आत्मनिर्भरता, आर्थिक समृद्धि र दिगो विकासको प्रभावकारी आधार हो। सानो लगानीबाट सुरु भएको गङ्गा जमुना कृषि तथा पशुपन्छी उद्योग आज सफल, व्यवस्थित र प्रेरणादायी कृषि उद्यमका रूपमा स्थापित भएको छ।

स्थानीय सरकारबाट प्राविधिक सहयोग, बजार व्यवस्थापन, सहुलियत ऋण तथा आधुनिक कृषि उपकरणमा पहुँच विस्तार गर्न सकिए यस्ता उद्यम अझ प्रभावकारी बन्ने र थप युवालाई स्वदेशमै कृषि व्यवसायतर्फ आकर्षित गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय