उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित नेपाल दर्शन कलेजले विद्यार्थी स्वागत, सम्मान तथा विदाई कार्यक्रम आयोजना गर्दै शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान र छात्रवृत्ति वितरण गरेको छ ।
कलेज सञ्चालक समितिका अध्यक्ष केपी शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा उर्लाबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा उपसचिव शालिग्राम काफ्लेले दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो । उहाँले गुणस्तरीय शिक्षा, अनुशासन र प्रतिस्पर्धात्मक क्षमताको विकासमा निजी शैक्षिक संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।कार्यक्रममा वडा नं. ७ की वडाध्यक्ष उर्मिला थापा, प्याब्सन उर्लाबारी नगर अध्यक्ष सूर्यकुमार पौडेल तथा नगर शिक्षा समिति सदस्य राम गौतमलगायतले विद्यार्थीलाई अध्ययनसँगै चरित्र निर्माणमा पनि ध्यान दिन आग्रह गर्नुभयो । कलेजले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । ३.९५ जीपीएसहित कलेज प्रथम बनेका इसिका भण्डारी र जितुन्सा बस्नेतलाई विशेष सम्मान गरिएको थियो । विज्ञान संकायतर्फ वेन्जु निरौला र भविष थापा प्रथम, परिना प्रधान दोस्रो तथा निस्मा चौहान र प्रशंसा राई तेस्रो भएका विद्यार्थीलाई सम्मान गरिएको थियो । व्यवस्थापन संकायतर्फ दिनेश श्रेष्ठ र दिपिका पौडेल पनि पुरस्कृत हुनुभयो।
समारोहमा विभिन्न तह र संकायका उत्कृष्ट विद्यार्थीलाई लाखौँ रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको थियो । नेपाल आदर्श अङ्ग्रेजी माध्यमिक विद्यालयबाट एसईईमा ४.० जीपीए ल्याई नेपाल दर्शन कलेजमा अध्ययनरत प्रेक्षा खड्का र मेरिना कार्कीलाई जनही रु. १ लाख ६६ हजार ५०० तथा सृजन पाण्डेलाई रु. १ लाख ७८ हजार ५०० छात्रवृत्ति प्रदान गरिएको कलेजले जनाएको छ । यसैगरी कक्षा ११ को प्रवेश परीक्षा, वार्षिक परीक्षा तथा स्नातक तहका उत्कृष्ट विद्यार्थीलाई पनि छात्रवृत्ति र पुरस्कार प्रदान गरिएको थियो । कलेजले यस शैक्षिक सत्रमा भर्ना भएका कक्षा ११ का २३० जना तथा बीबीएस प्रथम वर्षका विद्यार्थीलाई औपचारिक स्वागत गरेको थियो । कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई मायाको चिनोसहित विदाई गरिएको कार्यक्रममा बीबीएस चौथो वर्षका विद्यार्थीका लागि दीक्षान्त समारोहसमेत आयोजना गरिएको थियो । कार्यक्रममा कलेजका प्रिन्सिपल सविना खड्का कार्कीले शैक्षिक उपलब्धि र भावी योजनाबारे जानकारी दिनुभयो भने कार्यक्रम संयोजक दुर्गाप्रसाद पौडेलले कार्यक्रमको उद्देश्य स्पष्ट पार्नुभयो । स्वागत मन्तव्य कलेजका सञ्चालक सदस्य तथा कोअर्डिनेटर गोविन्द भट्टराईले व्यक्त गर्नुभएको थियो । समारोहको दोस्रो चरणमा विद्यार्थीहरूले नृत्य, गायन तथा अन्य सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए ।
























