मोरङको उर्लाबारीमा प्रतिभा खोजी तथा प्रोत्साहन गर्ने उद्देश्यले “उर्लाबारी गट ट्यालेन्ट सिजन–२” आयोजना हुने भएको छ।
आयोजकले प्रतियोगितामार्फत नृत्य, गायन र फेसन मोडलिङ क्षेत्रमा रहेका प्रतिभाशाली बालबालिका तथा युवाहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरिने जनाएको छ। यस वर्ष प्रतियोगितामा नृत्य, गायन र फेसन मोडलिङ गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितालाई अझ व्यवस्थित र निष्पक्ष बनाउन सहभागीहरूलाई जुनियर (१२ वर्ष मुनि) र सिनियर (१३ वर्ष माथि) गरी दुई उमेर समूहमा विभाजन गरिएको छ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागीहरूले नेपालका चर्चित प्रशिक्षकहरूबाट प्रशिक्षण तथा मार्गदर्शन प्राप्त गर्नेछन्। साथै, ग्राण्ड फिनालेमा निर्णयकको भूमिकामा राष्ट्रिय टेलिभिजनका चर्चित रियालिटी शोका स्थापित निर्णायकहरू काठमाडौँबाट आउने कार्यक्रम रहेको छ। प्रतियोगितामा सहभागी हुने प्रत्येक प्रतियोगीलाई उर्लाबारीस्थित फेसन स्टोर “फोर्थ स्टार क्लोसेट” को तर्फबाट आकर्षक उपहार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी कोही पनि खाली हात फर्किनु नपर्ने व्यवस्था गरिएको छ। प्रतियोगिताको कुल पुरस्कार राशि रु. २ लाख ५ हजार रहेको छ। पहिलो अडिसन २०८३ साल साउन २३ गते शनिबार बिहान १० बजेदेखि उर्लाबारी–५, नमूना मार्गस्थित डाइनास्टी क्याफे एन्ड बार मा सञ्चालन हुनेछ।
अडिसन तथा फाराम शुल्क रु. ३०० निर्धारण गरिएको छ। आयोजकका अनुसार प्रतियोगितामा उर्लाबारी नगरपालिकासहित दमक, पथरीशनिश्चरे, मिक्लाजुङ (मधुमल्ला) तथा रतुवामाई नगरपालिकाका प्रतिभाहरूले समेत सहभागिता जनाउन सक्नेछन्।
कार्यक्रम संयोजक रूपेन मंगरातीले प्रतियोगिताले स्थानीय प्रतिभाहरूलाई राष्ट्रिय स्तरसम्म पुग्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
























