उर्लाबारी— कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वाले स्थानीय खेलकुदको विकासका लागि प्रदेश सरकार सधैं सहकार्य र सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ।

खेलकुदले अनुशासित, स्वस्थ र सक्षम युवा उत्पादन गर्ने भएकाले यसको विकासमा सरकारसँगै आफ्नो व्यक्तिगत पहल पनि निरन्तर रहने उहाँले उल्लेख गर्नुभयो।उर्लाबारी–३ मंगलबारेमा आयोजित मंगलबारे फुटबल लिग–२०८३ को समापन तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री पालुङ्वाले स्थानीय स्तरबाट यस्ता प्रतियोगिताको निरन्तरताले प्रतिभावान खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो। प्रतियोगिताको उपाधि आयोजक मंगलबारे फुटबल क्लबले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा आयोजक टोलीले चाँदनी युवा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो।

आयोजकका अनुसार स्थानीय खेलाडीको पहिचान, उत्पादन तथा समग्र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिता गत असोज ९ गतेदेखि उर्लाबारी–३ स्थित साविक चाइनिज क्याम्प खेल मैदानमा सञ्चालन भएको थियो। प्रतियोगितामा उर्लाबारी–२ र ३ का गरी पाँच टोली सहभागी भएका थिए। आयोजकले यस्ता प्रतियोगिताले स्थानीय खेल प्रतिभाको खोजी, खेल संस्कृतिको विकास र युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय