मौरीको गुञ्जनसँगै आत्मनिर्भरताको कथा : पद्माकुमारी थापाको सफल यात्रा
श्रीटीका गुरागाई (झापा)
उर्लाबारी नगरपालिका–४, आइतबारेकी पद्माकुमारी थापाको दिनचर्या अरूको भन्दा केही फरक छ। बिहान घाम झुल्किनासाथ उनको ध्यान मौरीका घारतर्फ जान्छ। घार वरिपरि गुञ्जिरहेका हजारौं मौरीहरू उनको जीविकोपार्जनको माध्यम मात्र होइनन्, आत्मनिर्भरताको आधार पनि बनेका छन्।
करिब डेढ दशकअघि सामान्य लगानीबाट सुरु भएको उनको मौरी पालन व्यवसाय आज उदाहरणीय उद्यमका रूपमा स्थापित भएको छ। वि.सं. २०७० सालमा करिब ६० देखि ७० हजार रुपैयाँ लगानी गरी १५ वटा घारबाट सुरु गरिएको पाद्मश्री मौरी पालन फर्म अहिले ६० देखि ७० वटा घारसम्म विस्तार भएको छ। फर्ममा एपिस मेलिफेरा प्रजातिका मौरी पालन गरिन्छ।
तर यो सफलता सहजै प्राप्त भएको भने होइन। व्यवसायको सुरुवाती चरणदेखि नै उनले अनेक चुनौतीहरूको सामना गरिन्। कहिले रोग तथा कीराको प्रकोप, कहिले बजारको समस्या, त कहिले मौरीले घार छोड्ने र रानी मौरी हराउने समस्याले उनलाई निराश बनायो। चरणको अभावका कारण उत्पादन घट्ने र आर्थिक क्षति हुने अवस्था पनि पटक–पटक आयो।
“धेरैपटक घाटा पनि भयो, तर हार मानिनँ,” थापा भन्छिन्, “समस्या आउँछन् भनेर काम छोड्ने हो भने सफलता सम्भव हुँदैन।”
मौरी पालनमा चरण व्यवस्थापन सबैभन्दा महत्वपूर्ण पक्ष मानिन्छ। यही कारण उनले आफ्ना मौरीका घारहरू उर्लाबारीदेखि तेह्रथुमसम्म लैजाने गरेकी छन्। फापर, तोरी लगायतका फूल फुल्ने बाली मौरीका लागि उत्कृष्ट चरण मानिन्छन्। पर्याप्त चरण पाएपछि मौरीले राम्रो मह उत्पादन गर्ने भएकाले यसतर्फ विशेष ध्यान दिने गरेको उनी बताउँछिन्।
उनका अनुसार पुसदेखि फागुनसम्म मह उत्पादनको मुख्य समय हो। यस अवधिमा उत्पादन उल्लेख्य हुने गर्छ भने अन्य समयमा पनि सन्तोषजनक उत्पादन प्राप्त हुने गरेको छ। उत्पादन भएको मह स्थानीय बजारमै बिक्री हुने गरेको छ।
पद्माकुमारीको व्यवसाय मह उत्पादनमा मात्र सीमित छैन। फर्मबाट मौरीको मैन, परागकण, प्रोपोलिस, रोयल जेली, मौरीको विष, महसहितको चाका, रानी मौरी तथा घारसमेत बिक्री हुने गरेको छ। यसले आम्दानीका स्रोतहरू थप फराकिला बनाएको छ।
हाल एक किलोग्राम महको मूल्य करिब ७०० रुपैयाँ रहेको छ। खर्च कटाएर वार्षिक पाँच लाखदेखि पन्ध्र लाख रुपैयाँसम्म आम्दानी हुने गरेको थापा बताउँछिन्। आर्थिक लाभसँगै उनले अन्य किसान तथा उद्यमीलाई मौरी पालनसम्बन्धी तालिम र परामर्श सेवा पनि उपलब्ध गराउँदै आएकी छन्।
मौरी पालनले व्यक्तिगत आय बढाउनुका साथै कृषि उत्पादन वृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्याउने गरेको छ। मौरीले बालीमा परागसेचन गरिदिँदा उत्पादन बढ्ने भएकाले किसानहरूलाई प्रत्यक्ष लाभ पुग्ने गरेको छ।
भविष्यमा व्यवसायलाई अझ आधुनिक र व्यावसायिक बनाउँदै विस्तार गर्ने योजना रहेको बताउँदै थापा भन्छिन्, “मौरी पालन केवल व्यवसाय मात्र होइन, ग्रामीण क्षेत्रमै बसेर आत्मनिर्भर बन्न सकिने सम्भावनाको एउटा उत्कृष्ट माध्यम हो।”
पद्माकुमारी थापाको यात्रा संघर्ष, धैर्यता र निरन्तर मेहनतको प्रेरणादायी उदाहरण बनेको छ। उनको सफलताले कृषि तथा उद्यमशीलतामा भविष्य खोजिरहेका युवाहरूलाई नयाँ सम्भावनाको बाटो देखाएको छ।
























