
उर्लाबारी । मोरङको उर्लाबारीमा खानेपानी सेवा, सुधार तथा सरसफाई व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उर्लाबारी–६ स्थित उर्लाबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजनामा सो कार्यक्रम भएको हो । कार्यक्रममा जनप्रतिनिधि, खानेपानी कार्यालयका प्रतिनिधि, सरोकारवाला निकायहरू, उपभोक्ता समितिका सदस्यहरू, स्थानीय बासिन्दा तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा खानेपानीको गुणस्तर, वितरण प्रणाली, स्रोत संरक्षण तथा उपभोक्ताको गुनासो समाधानका विषयमा छलफल भएको थियो ।
उर्लाबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष चिन्तामणि पौडेलले खानेपानी सेवाको गुणस्तर सुधार गर्नका लागि उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले खानेपानी सेवा सुधारका लागि उपभोक्ताको सुझाव र गुनासोलाई प्राथमिकतामा राखेर योजना बनाइरहेको जानकारी दिनुभयो । कार्यक्रममा सहभागी उपभोक्ताहरूले पानीको नियमित आपूर्ति, गुणस्तर तथा वितरण प्रणालीमा देखिएका समस्याहरूको समाधानका लागि सुझावहरू प्रस्तुत गरेका थिए । कार्यक्रमले खानेपानी सेवा सुधारका लागि उपभोक्ता र सरोकारवाला निकायहरूबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ ।