म्याग्दी — अन्नपूर्ण हिमालको फेदीस्थित पञ्चकुण्ड तालमा यसपालिको भाइटीका लगाएर झापा दमककी सिसम बजगाईँ र उनका भाइ सिजल बजगाईँले अनौठो अनुभव बाँडेका छन् ।
खुलेको निलो आकाश, टल्किएको अन्नपूर्ण हिमाल र तालको शान्त छायाँबीच दिदी–भाइबीचको आत्मीय टीकाको क्षणले तिहारलाई अझै अर्थपूर्ण बनाएको छ । सिसमका अनुसार पञ्चकुण्ड तालमा पुगेर भाइटीका लगाउने पुरानो रहर पूरा भएको हो ।
तीन दिनको रमाइलो पदयात्रा पछि उनीहरू मौरिस हर्जोग पदमार्ग हुँदै ४,०५० मिटर उचाइमा अवस्थित पञ्चकुण्ड ताल पुगेका थिए । ‘‘हिमालको काखमा बसेर भाइटीका लगाउँदा गर्व र आनन्दको अनुभूति भयो,’’ सिसमले भनिन् ।
हाल अन्नपूर्ण आधार शिविर र पञ्चकुण्ड ताल आन्तरिक पर्यटकका आकर्षण बनेका छन् । झरना, दुर्लभ वनस्पति, मनमोहक हिमशृङ्खला र फुतफते झरनाजस्ता प्राकृतिक सौन्दर्यले भरिएको यो पदमार्ग स्थानीय पर्यटन प्रवर्द्धनको नयाँ केन्द्र बन्दै गएको छ ।























