उर्लाबारी । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै चुनाबी चर्चापरिचर्चा सुरु भएको छ ।
यसैबीच उर्लाबारी नगरपालिकाका वर्तमान मेयर खड्ग फागो फेरि मेयरमा उठ्ने वा नउठ्ने भन्ने विषयमा केही बोल्नु भएको छैन । तर, अधिकांशले पुनः एक पटक फागो मेयरमा उठ्नु पर्नेमा आवाज उठाइरहेका छन् । नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्रीसमेत रहनु भएका फागो प्रतिनिधि सभा वा उर्लाबारी नगरपालिकाको मेयर मध्ये एकको उम्मेद्वार बन्ने पक्का छ । जानकार स्रोतका अनुसार अधुरा काम पूरा गर्नका लागि पनि मेयर फागो पुनः एक कार्यकाल मेयर बन्नु पर्ने आकांक्षा राखिरहेका छन् । माथिल्लो तहका नेताहरुले भने फागोलाई प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बन्न सुझाव दिइरहेको बुझिएको छ । भर्खरै काठमाडौंबाट फर्किनु भएका मेयर फागोले प्रतिनिधिसभा सदस्य वा मेयरमध्ये एकको उम्मेद्वार बन्ने संकेत गर्नुभएको छ । पार्टीका कार्यकर्ताहरुको चाहना एबं जनभावनाअनुसार आफ्नो उम्मेद्वारी तय हुने उहाँको भनाई छ । उर्लाबारीमा फागोको पडक राम्रो भएकाले पुनः सहज तरिकाले चुनाब जित्ने विश्लेषण गरिएको छ । एमाले विभाजन भएका कारण पनि फागो मेयरको उम्मेद्वार हुँदा विगतको भन्दा फराकिलो मत अन्तरले विजयी हुने सम्भावना छ ।























