उर्लाबारी । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै को उम्मेद्वार बन्ने हो भन्ने विषय निकै चासोको साथ हेरिएको छ । मोरङ जिल्लाको उर्लाबारी नगरपालिकाको पहिलो मेयर नेपाली कांग्रेसबाट खड्ग फागो बन्नुभयो । त्यसैकारण पनि यस पटक कांग्रेसबाट को को उम्मेद्वारीका आकांक्षी छन् भन्ने विषयमा चर्चापरिचर्चा हुन थालेको छ । चिया पसलहरुमा पनि चुनाबी सरगर्मी छाउन थालेको छ । नेपाली कांग्रेसबाट वर्तमान मेयर फागो नै उम्मेद्वार बनेको खण्डमा अन्य आकांक्षी देखिने सम्भावना कम छ । तर, फागो प्रतिनिधिसभाको उम्मेद्वार बनेको अवस्थामा कांग्रेसबाट मेयरको आकांक्षीबीच हानाथाप चल्ने निश्चित छ । मेयर फागो पुनः मेयर वा प्रतिनिधिसभाको उम्मेद्वार बन्ने भन्ने बारेमा केही बोल्नु भएको छैन । त्यसैकारण पनि धेरै आकांक्षीहरुले आफु नै कांग्रेसबाट मेयरको उम्मेद्वार बन्ने दाबी गर्न थालेका छन् ।
मेयर फागोसहित चिन्तामणि पौडेल, बीरबल थापा, भानुभक्त शर्मा पराजुली, जयधर्म आचार्य, सुरेन्द्र लिम्बू, शोभा पालुङ्वा, सीता कार्कीलगायतको नाम अग्रपंक्तिमै चर्चा छ । अन्य केहीले पनि आफ्नो उम्मेद्वारीमा दाबी रहेको घुमाउरो पाराले सामाजिक सञ्जालमा पोखिरहेको भएपनि माथी उल्लेखित नामकै पेरिफेरिबाट उम्मेद्वार बन्ने सम्भावना देखिन्छ ।
फागो पहिलो नम्बरमा

वर्तमान मेयर फागो पुनः उम्मेद्वार बन्न चाहेको खण्डमा उहाँ नै सर्वसम्मत कांग्रेसबाट उम्मेद्वार बन्ने निश्चित छ । किन भने कांग्रेसलाई यो उचाईमा यस क्षेत्रमा पु¥याउने श्रेय फागोलाई जान्छ । पार्टीभित्र विचलन भएपनि फागो नै शक्तिशाली मानिनुहुन्छ । नेपाली कांग्रेस प्रदेश नं. १ को सह–महामन्त्रीसमेत रहनु भएका फागो उर्लाबारीको मेयर वा प्रतिनिधिसभामध्ये एकको उम्मेद्वार बन्ने निश्चित छ ।
दोस्रो नम्बरमा को ?
फागो मेयरको उम्मेद्वार नभई प्रतिनिधिसभाको उम्मेद्वार बनेको खण्डमा कसले बाजी मार्ला त ? यो विषय निकै चासोको साथ हेरिएको छ । तीन वडाध्यक्षसहित महिला नेतृहरुको सशक्त दाबी रहने देखिएको छ भने वर्तमान नगरसभापति सुरेन्द्र लिम्बू पनि मेयरको दौडमा रहने निश्चित छ । फागो प्रतिनिधिसभाको उम्मेद्वार बनेको खण्डमा उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले मेयरको उम्मेद्वार पाउन सक्ने अड्कल काटिएको छ । वडा नं. ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुली र उर्लाबारी वडा नं. ७ का वडाध्यक्ष बीरबल थापा पनि मेयरको दौडमा सशक्त उभिने निश्चित छ । त्यस्तै, जयधर्म आचार्य पनि बलियो उम्मेद्वार भएपनि पार्टीबाटै टिकट पाउने सम्भावना कमजोर रहेको जानकार स्रोत बताउँछ ।
उपमेयर को हो ?

उर्लाबारी नगरपालिकाको मेयर खड्ग फागो पुनः उम्मेद्वार बनेको खण्डमा महिला नेतृ सीता कार्की नै उपमेयरको उम्मेद्वार बन्ने निश्चित छ । गत निर्वाचनमा पराजित बन्नु भएकी कार्की यस पटक सशक्त रुपमा देखिने बताइएको छ । फागोबाहेक अन्य उम्मेद्वार बनेको खण्डमा जात र भूगोल मिलाएर मेयरकै आकांक्षीबाट उपमेयर बन्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय