उर्लाबारी । नेकपा एमाले उर्लाबारीभित्र पनि आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कसले उम्मेद्वारी हत्याउने भन्ने बारेमा चर्चापरिचर्चा हुन थालेको छ ।
उर्लाबारीको मेयरमा आकांक्षी प्रस्तुत गर्दै सामाजिक सञ्जालमा आउन थालेपछि एमाले उर्लाबारी अध्यक्ष गंगाप्रसाद बास्तोलाले मनोमानी तरिकाले उम्मेद्वार घोषणा नगर्नु भन्दै फेशबुकमा पोष्ट गर्नुभयो । आकांक्षा राख्नेको संख्या आधा दर्जन हाराहारीमा देखिएपनि वर्तमान उपमेयर लक्ष्मीदेवी भण्डारी, गत निर्वाचनमा मेयरमा पराजित भूपाल सिं जिमी र उमाकान्त गौतममध्ये एक मेयरको उम्मेद्वार बन्न सक्ने एमाले स्रोतको अड्कल छ ।
रुपेश खतिवडालगायतको नाम पनि चर्चा छ । तर, उर्लाबारीबासीमाझ खतिवडा अन्य उम्मेद्वारको तुलनामा कम परिचित मानिनुहुन्छ । त्यसैकारण पनि भण्डारी, जिमी र गौतममध्ये एकले यस पटक मेयरको उम्मेद्वार बन्ने देखिएको छ । अग्नी भट्टराई, पुष्प ढकाललगायतको पनि नाम मेयरमै चर्चा छ ।
पहिलो नम्बर को ?

२०७४ सालमा वर्तमान मेयर खड्ग फागोसँग पराजित बन्नु भएका भूपाल सिं जिमी नै यस पटक उम्मेद्वार बन्ने एमाले बृत्तमा चर्चा छ । गत निर्वाचनमा उपमेयरमा एमालेबाट निर्वाचित लक्ष्मीदेवी भण्डारी उर्लाबारी नगरपालिकाको पहिलो महिला मेयर बन्ने जमर्कोमा हुनुहुन्छ भने उमाकान्त गौतम पनि एमालेभित्र प्रभावशाली मानिन्नु हुन्छ । गत निर्वाचनमा पराजित बनेका कारण यस पटक पनि जिमीले नै पहिलो नम्बरमा अवसर पाउने देखिन्छ । यसपछि भने वर्तमान उपमेयर भण्डारी सशक्त दाबेदार मानिन्छ ।
उपमेयर को हो ?
भूपाल सिं जिमी नै मेयरको उम्मेद्वार भएको खण्डमा वर्तमान उपमेयर लक्ष्मीदेवी भण्डारी नै पुनः उपमेयरको उम्मेद्वार बन्ने सम्भावना पनि छ । भण्डारी मेयरको उम्मेद्वार भएको खण्डमा पुरुष उपमेयरको उम्मेद्वार बन्ने सम्भावना छ । त्यो अवस्थामा गंगाप्रसाद बास्तोला, सुरेन्द्र शेर्मालगायतको नाम अग्रपंक्ति आउने देखिन्छ । त्यस्तै, मीना पौडेल, भीष्मा रेग्मीलगायतको नाम पनि उपमेयरमा चर्चा छ ।























