उर्लाबारी नगरपालिकामा महिला हिंसाका घटना, महिला बिकास सम्बन्धि भइरहेका कार्यक्रमका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय महिला आयोगको अध्यक्ष कमला कुमारी पराजुलीको नेतृत्वमा आएको टोलीसंग नगरपालिकाले बिहीबार अन्तरक्रिया गरेको हो । आयोगको अध्यक्ष पराजुलीले नगरपालिकाले महिलाका महिलाको क्षमता अभिवृद्धि सम्बन्धी काम गरिरहेको छ, न्यायिक समितिले कसरी कार्य सम्पादन गरिरहेको छ उक्त बिषयमा जानकारीको लिनुभएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको उहाले नीति कानूनमा व्यवस्था भए अनुसारको महिलाका हक अधिकारहरु कसरी कार्यान्वयन भइरहेको छ सोको समेत जानकारी लिनु भएको छ ।
कार्यक्रममा उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले कानुनको परिधिभित्र रहेर नगरको स्रोत र साधनले भ्याएसम्म महिलाको क्षेत्रमा काम गर्दै आएको बताउनुभएको छ। कार्यक्रममा उहाले गठन भएका बिभिन्न आयोगले हकअधिकार सुनिश्चित भए नभएको समय समयमा अनुगमन गरिरहन आग्रह गर्नुभएको छ ।
उर्लाबारी नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक लक्ष्मीदेवी भण्डारीले नगर न्यायिक समितिमा अहिले सम्म ६ सय ५० वटा मुद्दा दर्ता भएको बताउनु भएको छ । धेरै जसो, घरेलु हिंसा, घर जग्गा किचलो, सम्बन्ध बिच्छेद, लेनदेनका समस्या आउने गरेको उहाले बताउनु भएको छ । छलफलका लागि आएको अधिकांश बिवाद नगर न्यायीक समितिले नै समाधान गर्दै आएको बताउनु भएको छ । त्यस्तै नगरपालिकाले महिला तथा लक्षित बर्गलाई आत्मनिर्भर बनाउन विभिन्न सिपमुलक तालिमहरु संचालन गरिरहेको बताउनुभएको छ।
महिला बालबालिका जेष्ठ नागरिक तथा सामाजिक बिकास शाखा प्रमुख चन्द्रकला सुब्बाले यस आर्थिक बर्षमा नगरले महिलाको क्षेत्रमा ३७लाख ७हजार बजेट विनियोजन गरेको जानकारी गराउनुभएको छ । महिलाको सिप विकासको क्षेत्रमा मेसिन सहितको सिलाइकटाइ तालिम, ब्युटि पार्लर तालिम, तान सहितको ढाका बुनाई लगायतका बिभिन्न सिपमुलक तालिम नगरले निशुल्क सञ्चालन गरिरहेको बताउनुभएको छ ।महिला शाखाले नगरका विभिन्न वडामा रहेका बिपन्न, सुकुम्बासी, दलित समुदायका महिलाहरूलाई एकिकृत गरि ७९ वटा महिला समूह बनाएको जानकारी गराउनु भएको छ । समूहमा रहेका महिलाहरुलाई नगर, वडाले केही बीउ पूँजी उपलब्ध गराइ बचत गर्न सिकाउने, उनीहरूको नेतृत्व, व्यक्तित्व बिकाशका लागि तालिम, गोष्ठी संचालन गर्दै आएको बताउनु भएको छ । नगरपालिकाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा उर्लाबारी नगरपालिकाका महिला वडा सदस्यहरुको उपस्थिति रहेको थियो। उर्लाबारी नगरपालिकाको प्रमुख लक्ष्मी देवी भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रम नगर न्यायिक समिति सदस्य निरोज तिम्सिनाले सञ्चालन गर्नुभएको थियो ।























