उर्लाबारी । मोरङको उर्लाबारी स्थित सन्थाल जातिको एकिकृत बस्ति निर्माणको कार्यलाई अघि बढाउन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले पहलकदमी अघि बढाउनुभएको छ ।
एकिकृत सन्थाल वस्ती निर्माण स्थलको समस्या समाधानको लागि मेयर फागो शुक्रबार साँझ रातेहोलीमा स्थानीयसँग छलफल गर्नुभएको हो । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले पनि समस्या छिटो समाधान गरी निर्माण प्रक्रिया अघि बढाउन सहयोग गर्न मेयर फागोसहित स्थानीयबासीलाई आग्रह गर्नुभएको छ । उर्लाबारी–८ स्थित सन्थाल जातिको एकिकृत बस्ती निर्माणका लागि टेन्डर आव्हान भएर निर्माणको प्रक्रियामा अगाडी बढेको भएतापनि स्थानियहरुले विरोध गरिरहेका कारण निर्माण कार्य अगाडी बढ्न सकेको छैन ।
करिव एक वर्ष अघि पूर्व प्रधानमन्त्री एवम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले उर्लाबारी–८ स्थित खोला किनारमा ३० करोड लगानीमा निर्माण सम्पन्न गर्ने गरी १ सय ३२ बटा घर निर्माणको योजनालाई अगाडी बढाएको थियो । शिलान्यासताका स्थानियहरुले बस्ती निर्माण प्रक्रिया बिस्तृत स्थलगत अध्ययन नगरी अगाडी बढाउदा वषौं देखी आफुहरुले जोतभोग गर्दै आएको जमिन तात्कालिन सरकारले बस्ती निर्माणका नाममा हडप्न खोजेको भन्दै विरोध जनाएका थिए । सो विरोध अहिले पनि कायम नै रहेको छ ।
स्थानियहरुको विरोधका बाबजुद पनि तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बस्तीको शिलान्यास गरेका थिए । शिलान्यास भएको करिब एक वर्ष पछि निर्माणको प्रक्रिया थालनी गर्न खोजीरहेको शहरी विकास मन्त्रालय अहिले स्थानियहरुले अवरोध सृजना गर्ने भयले कामलाई अगाडी बढाउन स्थानिय सरकार सग समन्वय गर्न खोजीरहेको छ ।























