पुजन दास
उर्लाबारी । उर्लाबारी नगरपालिकाले बक्राहा घाट निर्माणका लागि प्रक्रिया अघि बढाएको छ ।
घाट निर्माणका लागि ३ विघा ११ कट्ठा जग्गा छुट्टाइसकेको छ भने डिपिआर तयार पारेर निर्माण कार्य प्रारम्भ गर्ने तयारी भइरहेको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिनुभयो । उहाँका अनुसार उर्लाबारी नगरपालिकाको गौरब योजना बक्राहा घाट निर्माणका लागि ७० लाख रुपैयाँ छुट्याइएको छ । चाँडै बक्राहा घाटको निर्माण कार्य सुरु हुने उहाँको भनाई छ । मेयर फागोकै सक्रियतामा जग्गाधनीहरुसँग केही समयअघि छलफल भएको थियो । त्यसपछि जग्गा छुट्याउन समिति नै बनाइएको थियो । सो समितिले ३ विघा ११ कट्ठा जग्गा छुट्याएको छ ।
उर्लाबारी–४ स्थित बक्राहा घाटमा नदीको दुबैतर्फ शव जलाउने गरिएको छ । बक्राहा पश्चिमका बासिन्दाले पश्चिमतर्फ र पूर्वका बासिन्दाले पूर्वतर्फ दाहसंस्कार गर्ने गर्दछन् । तर, यहाँ शव जलाउने व्यवस्थित घाट छैन ।
बक्राहा नदीमा औसत दिनमा ३÷४ वटा शव जलाउन ल्याएको पाइन्छ । तर, व्यवस्थित घाट नभएकोले शव जलाउन कठिन हुने गरेको मलामीहरु बताउँछन् । जथाभाबी रुपमा शव लगाउने गरिएको कारण दायाँबायाँका किनारामा लासको जलाउन प्रयोग गरिने दाउँरा, खरानी, अँगार तथा हड्डीसमेत त्यतिकै हुने गरेको छ । जसले गर्दा किनारा फोहोर भई वातवारण प्रदूषण हुन गई जनस्वास्थ्यमा असर पर्न गएको छ । साथै मलामीले खाएको पानी, बिस्कुटलगायतका खोलहरु जथाभाबी रुपमा फ्ँयाक्ने गरिएको छ । जसले गर्दा उक्त थप अब्यवस्थित बनेको हो । यस्तै, वर्षायाममा बक्राहामा आउने बाढीले बगरक्षेत्र पुरै जलमग्न हुने गरेका कारण शव जलाउन कठिन हुने गरेको स्थानीय बताउँछन् ।























