काठमाडौं । लामो समयको बहस, विवाद र अलमलका बाबजुद अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका लागि प्रतिनिधिसभामा पेश हुने भएको छ । बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि पेश गर्ने तयारी गरेका हुन् ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बुधबार संसदीय दल र केन्द्रीय कार्यसम्पादन समितिको छुट्टाछुट्टै बैठक राखेर एमसीसी टेबल गर्ने निर्णय गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्न दिने प्रतिबद्धता जनाइसकेको र सरकारले अनुमोदनका लागि लैजाने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत बताउँछन् ।























