उर्लाबारी । अब्यवस्थित रहेको उर्लाबारीको बक्राहा घाट निर्माण गर्न उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो सक्रियतापूर्वक लागि पर्नुभएको छ ।
उर्लाबारी–४ मा जग्गा अभावका कारण घाट निर्माण कार्य सुरु हुन सकेको थिएन । मोरङ जिल्लाकै ठूलो र ब्यवस्थित घाट निर्माण गर्ने जमर्को थालिएको छ । मेयर फागोकै सक्रियतामा जग्गाधनीहरुसँग छलफल गरिएको थियो । सो छलफलले जग्गा खोज समिति गठन गरेको केही समयभित्रै उर्लाबारी–४ को बक्राहा खोला नजिकै ४ विघा जग्गा प्राप्त भएको छ । विनोद दाहालको नेतृत्वमा रहेको जग्गा खोज समितिले ४ विघा जग्गा घाट निर्माणका लागि जुटाएको छ । नगरपालिकाले उक्त जग्गा छुट्याइसकेको छ । मेयर फागोसहितको टोलीले जग्गाको स्थलगत निरीक्षण गरी डिपिआर तयारसमेत थालिसकेको जनाएको छ । डिपिआर तयार हुनसाथ शिलान्यास गरी काम प्रारम्भ हुने मेयर फागोले जानकारी दिनुभयो ।
मेयर फागोका अनुसार उर्लाबारीको बढ्दो जनसंख्या र जनघनत्वलाई मध्यनजर गर्दै आगामी १ सय वर्षसम्मका लागि सहज हुने गरीको सात वटा साधारण प्रकारको र ३ वटा विद्युतीय शव जलाउने स्थान, किरियापुत्री बस्ने घर, धार्मिक महत्व बोकेका बोट विरुवाहरुको बगैचा निर्माण, मन्दिर र पार्किङसहितको आधुनिक बक्राहा घाट निर्माण हुने छ ।
उर्लाबारीमा व्यवस्थित घाट नहुँदा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको स्थानमा शव जलाउने गरिएको छ । बक्राहा नदीमा दिनमा औसत ३÷४ वटा शव अन्त्येष्टिका लागि ल्याउने गरिएको भएता पनि व्यवस्थित घाट नहुँदा जथाभाबी रुपमा शव जलाउनाले नदी किनारमा बसोवास गर्ने समुदायको जनस्वास्थ्यमा असर पर्नुका साथै नदीको सौन्र्दयता र बरिपरिको वातावरण समेत दुषित र दुर्घन्धित बनेको देखेपछि नगरपालिकाको अनुरोधमा जग्गा दिन तयार भएको जग्गादाता लोकबहादुर कटुवालको भनाई छ । उर्लाबारी नगरपालिकाको गौरबको योजनाका रुपमा लिएको बक्राघाट निर्माणको काम जग्गा अभावका यस अघि अगाडि बढ्न सकेको थिएन ।
। नगरपालिकाले घाट निर्माणका लागि चालु आर्थिक वर्षमा ७० लाख रुपैयाँ विनियोजन गरेको छ । विनियोजित रकमबाट घाट निर्माणको काम अगाडि बढाउने र क्रमागत रुपमा विकास गर्दै आधुनिक घाट निर्माण गरी नदी किनारको पर्यावरण र जनस्वास्थ्यमा परेको असरलाई न्यूनीकरण गर्ने लक्ष्य नगरपालिकाले लिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारी घिमिरेले जानकारी दिनुभयो ।























