काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिव २ अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यस्तै, दुई स्थानलाई बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरेको उनले जनाए ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित गोविन्द मगरले पंक्षी पालेको स्थान र चितवन जिल्लाको राप्ती नगरपालिका ६ स्थित अनिता पशुपंक्षी कृषि फार्मलाई केन्द्र मानि ती स्थानको वरपरको सय मिटरसम्मको क्षेत्रमा प्रभावित क्षेत्रको घोषणा गरिएको जानकारी दिए ।

पंक्षी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट ४२ दिनसम्मको अवधिसम्मका लागि बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय कार्कीले जनाए ।

त्यस्तै, बैठकले राष्ट्रिय बीमा संस्थान सञ्चालक समितिको अध्यक्ष गंगाराम कँडेलको राजीनामा स्वीकृत गरेको छ ।

त्यसैगरी, नवीकरणीय उर्जा अनुदान नीति २०७८ स्वीकृत गर्ने, मुलकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूचि १ हेरफेर गर्ने पनि निर्णय गरेको प्रवक्ता कार्कीले जनाएका छन् ।

सरकारले नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको पनि कार्कीले जनाए ।

उनले श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको पनि जानकारी दिए ।

ग्लोबल फण्डको एड्स, क्षयरोग र मलेरिया रोग रोकथाम तथा नियन्त्रणका लागि सन् २०२१ देखि २०२४ को कार्यक्रम कार्यान्वयनका लागि जनसंख्या मन्त्रालयका सचिवलाई सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने बैठकले निर्णय गरेको कार्कीले जनाए ।

सरकारले औषधि दर्ता चौथो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने र नेपाल मेडिकल काउन्सिल पाचौँ संशोधन नियमावली २०७८ लाई स्वीकृत प्रदान गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय