उर्लाबारी । मोरङको उर्लाबारी–३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरका ४ जना स्टाफ नर्स उर्लाबारी नगरपालिकाले फिर्ता लैजाने निर्णय गरेको छ ।
उर्लाबारी नगरपालिकाका तत्कालिन मेयर खड्ग फागोले नगरपालिकाको तर्फबाट सेवाग्राहीको सहजताका लागि ४ जना स्टाफ नर्स मदन भण्डारी अस्पतालका लागि ब्यवस्था मिलाइदिनुभएको थियो । उर्लाबारी नगरपालिकाका नयाँ नेतृत्व आएसँगै ४ जना नर्सलाई फिर्ता लैजाने निर्णय गरेपनि अस्पतालमा बिरामीको उपचारमा थप समस्या उत्पन्न हुने देखिएको छ । ४ जना नर्स फिर्ता लैजाने निर्णयले अस्पतालको सेवा प्रभावित बन्ने भएकाले निर्णयलाई पूर्नविचार गरिदिन अस्पताल ब्यवस्थापन समितिका सदस्य विशाल आङ्दम्बेले नगरपालिकामा अनुरोध गर्नुभएको छ ।
यता उर्लाबारी नगरपालिकाका प्रवक्ता तथा उर्लाबारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकीले कोरोना उपचारका लागि खटिएका ४ जना नर्स फिर्ता गरेर नगरपालिका मातहतका स्वास्थ्य केन्द्रहरुमा परिचालन गरिने जानकारी दिनुभयो । प्रदेश मातहतको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा केही समयका लागि नर्सको ब्यवस्थापन गरिएको कारण हाल नगर मातहतका स्वास्थ्य केन्द्रमा जनशक्ति कमी भएपछि फिर्ता बोलाउने निर्णय भएको उहाँको भनाई छ । बिरामीहरु ब्यवस्थापनका लागि १ जना कर्मचारी भने पठाइएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, सो अस्पतालका फिजिसियन डाक्टरको सरुवा भएपछि अस्पतालको सेवा प्रभावित बनेको छ ।
अस्पतालमा फिजिसिनका रुपमा कार्यरत डाक्टर कुशल ओस्तीलाई प्रदेश–१ सरकार स्वास्थ्य मान्त्रालय मार्फत सरुवा गराई कोशी कोभिड अस्पताल विराटनगरमा खटाइएपछि अस्पतालमा उपचारका लागि आउने विरामीहरु मर्कामा परेका छन् । गत चैत २५ गते मात्रै मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा हाजिर भएका डाक्टर ओस्तीको ३ महिनाको अन्तरालमा सरुवा हुदा उपचारका लागि आएका विरामीहरुले सास्ती खेप्नु परिरहेको छ ।
प्रदेश सरकारले प्रदेश–१ कै नमुना ट्रमा सेन्टरका रुपमा विकास गर्ने घोषणा भाषणमा गरेको भएतापनि एक जना मात्रै फिजिसियन डाक्टरको भरमा रहेको थियो । तीनै डाक्टरको पनि सरुवा भएपछि अस्पताल डाक्टर विहिन भएको अस्पतालका मिडिकल सुपरिटेन्डेट डा. रविकुमार साह बताउनुहुन्छ । अस्पतालमा दैनिक जसो ओपिडी सेवा लिने ४ सय भन्दा बढी र आक्समिक सेवा लिने २५ भन्दा बढी औषधमा विरामी आउने गरेतापनि अस्पतालमा फिजिसियन डाक्टरको अभाव भएपछि अस्पतालले विरामीलाई रिफर गर्नुको विकल्प नभएको अस्पतालका एक कर्मचारीले बताएका छन् ।























