उर्लाबारी । उर्लाबारी नगरपालिकाले जडान गरेका सडक बत्ती बिग्रिँदा पनि मर्मतमा चासो दिएको पाईदैन ।
उर्लाबारी नगरपालिकाले पूर्वपश्चिमसहित भित्री सडकमा समेत सडक बत्ती जडान गरिएको छ । तर, मर्मत नहुँदा कतिपय बिग्रेर बल्दै नबल्ने अवस्थामा पुगेका छन् भने केही झिमिक झिमिक गर्दछन् । उर्लाबारी नगरपालिकाका तत्कालिन मेयर खड्ग फागोको कार्यकालमा जडान गरिएका बत्ती अहिले मर्मतमा कसैले चासो देखाएको पाईदैन । मर्मतमा न नगरपालिकाले चासो दिएको छ न त सडक बत्तीको ठेक्का पाएका ठेकेदारको ध्यान पुगेको छ । प्रथम मेयर फागोले अनुगमन गर्दै कर्मचारीलाई तत्काल मर्मतका लागि कडा निर्देशन दिएका कारण उहाँको कार्यकालमा बत्ती बिग्रेको केही समयमा बत्ती हतार हतार बनाउने कर्मचारीहरु यतिबेला हप्ता दिन बित्दा पनि हात बाँधेर बसेको छन् । पटक पटक स्थानीयबासीले सडक बत्ती मर्मतका लागि आवाज उठाउँदै आएका छन् । तर, कसैले सुनेको छैन ।























