उर्लाबारी । पूर्वपश्चिम राजमार्गअन्तरगत उर्लाबारी खण्डमा सडकमा ठूलठूला खाल्डा बनेपछि दुर्घटनाको जोखिम बढेको छ ।
सडक डिभिजन कार्यालय बिराटनगरले सडकमा भएका खाल्डाखुल्डी मर्मतमा ध्यान नदिएको कारण दुर्घटनाको जोखिम बढेको हो । मावा खोलादेखि सुनझोडा खोलासम्मको उर्लाबारी खण्डमा ठुला–ठुला खाल्डा पर्दा दुर्घटनाको जोखिम रहेको उर्लाबारी–३ का युवा शंकर निरौलाले जानकारी दिनुभयो । तत्काल मर्मत सम्भार नगरी ठूलो दुर्घटना हुने सम्भावना रहेको भन्दै स्थानीयबासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । शनिबार उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलको निरन्तर पहलमा सडक डिभिजन कार्यालय बिराटनगरले उर्लाबारी नगरपालिका क्षेत्रभित्रका राजमार्गमा भएका खाल्डाखुल्डी मर्मत गर्ने काम सुरु भएको जानकारी दिएपनि हालसम्म सडकका खाल्डा मर्मत भएको छैन ।























