विराटनगर । संविधान अनुसार स्थानीय सरकार प्रतिपक्षीविहिन स्थानीय सरकार हो । स्थानीय तहमा जुनसुकै दलबाट निर्वाचित भएको प्रतिनिधि भएपनि सबै सत्तापक्ष हुन्छन् । कार्यपालिकामा कार्यपालिका सदस्यको र नगरसभामा सभा सदस्यहरु सबैको समान हैसियत हुन्छ । तर, नेकपा एमालेले झापाको दमक नगरपालिकामा फरक अभ्यास गर्न खोज्दा नगरसभा नै भाँडिएको छ ।
गत स्थानीय तह निर्वाचनमा एमालेअध्यक्ष केपी ओलीको गृहनगर दमक नगरपालिकाको मेयर र उपमेयर दुबैमा एमाले पराजित भयो । मेयरमा गठबन्धनबाट राप्रपाका राम थापा र उपमेयरमा काँग्रेसकी रेगिना भट्टराई निर्वाचित हुँदा नगर कार्यपालिका र नगरसभामा भने एमालेकै बहुमत छ । बहमुतको आडमा एमालेले नगरपभामा प्रतिपक्षी मान्यतासहितको सुविधा मात्र मागेको छैन, बजेट र नीति तथा कार्यक्रम पारित गर्न नै अबरोध गरिरहेको छ ।
असार १० गते एमालेकै बहुमत रहेको कार्यपालिकाबाट पारित भएर नगरसभामा पेश भएको बजेट अहिलेसम्म नयाँ नयाँ बखेडा झिकेर एमालेले पास गर्न दिएको छैन । सुरुमा नगरको प्रवक्ता र सबै विभागको नेतृत्व दावी गरेको एमालेले अहिले संविधानविपरित प्रतिपक्षी दलको मान्यता माग गरिरहेको छ ।
एमालेले नगरसभाको संसदीय दल गठन गरेको भन्दै पूर्वउपमेयर तथा कार्यपालिका सदस्य लोकबहादुर धिमाललाई दलको नेता चयन गरेको छ । संविधान र कानूनले परिकल्पना नगरेको संरचना बनाएको एमालेले अहिले संसदीय दलको लागि कार्यालय र दलका नेतालाई सवारी साधनसहितको सुविधा दिनुपर्ने माग गरिरहेको छ ।
दमक नगर प्रमुख रामकुमार थापाले एमालेले दलको नेता बनाएको भन्दै गाडी र कार्यालय माग गरेको पुष्टि गरे । गैरकानूनी र गैरसंवैधानिक माग राखेर एमालेले बखेडा खडा गरेपछि काममा समस्या भएको उनको भनाइ छ ।
नेता धिमालले नगरसभामा आफूहरुको बहुमत रहेपनि मेयर र उपमेयरले पेलेर अगाडि बढ्न खोजेको आरोप लगाए । गाडी सुविधा नमागेको दावी गर्दै उनले कार्यपालिका सदस्यका लागि कार्यकक्ष भने मागेको स्वीकार गरेका छन् । नगरपालिकाको गाडीको अवस्था के छ भनेर सोधखोज मात्र गरेको उनको दावी छ ।
विवादको विषयमा बुधबार पत्रकार सम्मेलन गरेर एमालेले संविधान संशोधन गरेर भएपनि स्थानीय तहमा प्रतिपक्षी दलको व्यवस्था गर्नुपर्ने माग गरेको छ । एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका धिमालले संविधान संशोधन गरेर स्थानीय तहमा पक्ष र विपक्षको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
दमक नगरपालिकाका पूर्वनगर प्रमुख तथा एमाले केन्द्रीय सदस्य रोमनाथ ओलीले एमालेको विधानमै पालिका दलको व्यवस्था भएको दाबी गरेका छन् । उनले विगतमा पनि दमक नगरपालिकामा पालिका दलको अभ्यास भएको पनि दाबी गरे ।
कार्यपालिका सदस्यसहित दमक नगरपालिकामा ५५ जनप्रतिनिधि निर्वाचित छन् । तीमध्ये विश्वनाथ बराल जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएपछि अहिले एमालेका ४१ जना छन् भने नगरप्रमुख–उपप्रमुखसहित राप्रपा, कांग्रेस, माओवादी र जसपासहितको गठबन्धनका १३ जना मात्र छन् ।
एमालेले कार्यपालिका धिमाललाई संसदीय दलको नेता बनाएको छ भने दमक– ५ का वडाध्यक्ष इन्द्र गुरुङ उपनेता र सचिवमा शारदा भट्टराईलाई तोकेको छ । एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई समन्वय गर्न संसदीय दल गठन गरेको धिमालको भनाइ छ । दलको मुख्य उद्देश्य नगरपालिकालाई सहयोग गर्ने भएको उनको दावी छ ।
एमालेले प्रतिपक्षीको हैसियतमा नगर सभामा निरन्तर पनि अवरोध गर्दै आएको छ । एमालेले विरोध जनाएपछि बजेट पास गर्न बोलाइएको दमक नगरपालिकाको ११औँ नगर सभाको दोस्रो र तेस्रो बैठक स्थगित भएको छ । ३ साउनमा अर्को बैठक बोलाइएको भएपनि एमाले प्रतिनिधिहरु उपस्थित नै नभएपछि बैठक रोकिएको छ ।
स्थानीय सरकारमा सत्तापक्ष र प्रतिपक्ष भनेर संबिधानले परिकल्पना नै नगरेको भएपनि एमालेले संसदीय दलको नेता चयन गरेको भन्दै संसदीय दललाई कार्यालय र दलको नेतालाई सवारी साधन सुबिधा माग गर्नु आपत्तीजनक भएको दलहरुले आरोप लगाएका छन् । एमालेले गत निर्वाचनमा हारेको तुष पोख्दा झापाको दमक नगरपालिकाले बजेट पास गर्न नसकेको संयुक्त गठबन्धन दलहरुको दावी छ ।
बिहीबार दमकमा पत्रकार सम्मेल गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले गत स्थानीय निर्वाचनमा मुख्य नेतृत्वमा पराजित भएपछि एमालेले नगरको काममै अबरोध गर्न अगाडि सरेको आरोप लगाए । एमालेकै बहुमत सदस्य रहेको नगरकार्यपालिकाले पास गरिसकेको बजेट र नीति तथा कार्यक्रमलाई नगरसभाबाट पारित गर्न अबरोध गरिएको दलहरुले बताएका छन् ।
बहुमतको आडमा एमालेले नगरसभामा अबरोध गर्ने, बहिष्कार गर्ने र होहल्ला गर्दै बजेट पारित गर्न अबरोध गर्ने काम गर्दै आएको छ । कार्यपालिकाले पारित गरेका विषयहरु मात्र नगरसभामा पेश हुनुपर्नेमा एमाले प्रतिनिधिले आकस्मिक रुपमा नयाँ विषयहरु उठाएर नगरसभा अबरोध गरेको आरोप गठबन्धनले लगाएको छ । नगरसभा कुनै पार्टीको निर्देशन र हैकममा चल्ने थलो नभएको भन्दै गठबन्धनले बहुमतको धम्की नदिन एमालेलाई चेतावनी दिएको छ ।
कांग्रेस झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराई, नगर सभापति प्रकाश प्रसाईं, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष रबि बस्नेत, राप्रपा नगर अध्यक्ष हेम सुबेदी, नेकपा समाजावदीका नगर अध्यक्ष महेश घिमिरे र जसपा नगर अध्यक्ष भेषराज भट्टराईले स्थानीय सरकारले नागरिकलाई प्रदान गर्ने सेवा प्रबाहमा समन्वय गरेर जिम्मेवार हुन एमालेलाई आग्रह गरेका छन् ।























