मोरङ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आफ्नो सम्पत्ती विवरण महानगरपालिकामा बुझाउनुभएको छ ।
कोइरालालाई धनाड्य व्यक्तिको रुपमा सबैले चिन्ने गरेको भएपनि उहाँले बुझाएको सम्पत्ती विवरणमा यसअघि चर्चा गरिएजस्तो धेरै देखिएको छैन । उहाँले विराटनगरको वडा नम्बर १५ र वडा नम्बर ११ मा गरी झण्डै ५ विगाहा जग्गा रहेको उल्लेख गर्नुभएको छ ।
प्रमुख कोइरालाले आफ्नो नाममा रहेको मात्रै सम्पत्ती विवरण बुझाएको बुझिएको छ । ‘उहाँले आमा, बुबा, श्रीमती वा अन्य आफन्तको नाममा रहेको जग्गाको विवरण बुझाउनुभएको होइन’ स्रोतले भन्यो, ‘यो नितान्त उहाँको नाममा रहेको जग्गाको मात्रै विवरण हो ।’ विवरण अनुसार विराटनगर १५ मा कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी २८ हजार ७ सय १९ दशमलव ७८ वर्गमिटर अर्थात ८५ कठ्ठा जग्गा कोइरालाको नाममा छ । सबै जग्गा आफ्नो पैत्रिक सम्पत्ती रहेको उहाँले भरेको विवरणमा उल्लेख छ । यस्तै विराटनगर ११ मा पैत्रिक सम्पत्तीबाट पाएको ११ कठ्ठा जग्गा पनि आफ्नो रहेको उहाँले बताउनुभएको छ । यद्यपि उक्त जग्गा भाईको नाममा रहेको कैफियतमा उल्लेख छ ।
कोइरालाले २० वर्ष अगाडि खरिद गरेको ८० तोला सुन पनि आफूसँग रहेको बताउनुभयो । त्यसबेला ८ लाख रुपैयाँमा सुन किनेको उहाँले बताउनुभयो । यस्तै उहाँको सानिमा बैंकमा १० लाख रुपैयाँ नगद रहेको छ । उक्त नगद पनि पैत्रिक सम्पत्तीबाटै आएको उहाँले उल्लेख गर्नुभएको छ । कोइरालाले आफ्नो नाममा रहेको टोयोटाको प्राडो १ थान रहेको बताउनुभयो । जसको मूल्य ३ करोड ३० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ । उक्त प्राडो पनि पैत्रिक सम्पत्तीबाटै खरिद गरेको उल्लेख छ ।























