उर्लाबारी । भुमि आयोग जिल्ला समिति मोरङका अध्यक्ष सुशिला घिमिरे (सामना)ले मोरङका स्थानीय तहले समयमै अनुसुची अनुसारको विवरण पठाउन नसक्दा लालपुर्जा वितरणको काममा ढिलाई भएको बताउनुभयो ।
राष्ट्रिय भुमि आयोग जिल्ला समिति मोरङले उर्लाबारीका सरोकारवालाहरुसंग गरेको अन्तरक्रियामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । भुमिहीन सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउने, अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थित गराउने र भूमीहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई कृषिजन्य जमिन उपलब्ध गराउने गरी आयोगले जिल्लामा काम गरिरहेको बताउनुभयो । उहाँले अन्य जिल्लाका स्थानीय तहले समयमै विवरण बुझाएकाले लालपुर्जा वितरणको काम थालिसकेको भन्दै मोरङका स्थानीय तहले समयमै अनुसुची अनुसारको विवरण पठाउन नसक्दा लालपुर्जा वितरणको काममा ढिलाई भएको बताउनुभयो । घिमिरेले स्थानीय तहले र वडाले गर्नुपर्ने काम जति सक्दो छिटो गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले सुकुम्बासीलाई जग्गाको मालिक बनाउने र मुलुकबाटै सधैँका लागि भूमीहिन अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
‘कतिपय नागरिकको आफुले टेकेको भूमि आफ्नो भन्ने अवस्था छैन,’ नगर प्रमुख खरेलले भन्नुभयो ‘दिन पर्ने कसैलाई छुटाइनु हुँदैन । सबैलाई जमीन व्यवस्था गरेर आयोगलाई लालपुर्जा राजनीति आयोग होइन भन्ने पुष्टि गराउन आग्रह गर्नुभयो ।’ उहाँले पार्टी पक्षधरताभन्दा माथि उठेर भूमि आयोगमार्फत लालपुर्जा वितरण हुनुपर्ने खाँचो औल्यानुभयो । यस्तै, नगर उपप्रमुख मीना खतिवडा पौडेलले भुमिहीनको समस्यालाई सदाका लागि अन्त्यगरी समृद्ध नगर निर्माणमा आफुहरु लागि परेको बताउनुभयो । नगरका प्रवक्ता समेत रहेका वडा नं. ३ का वडाअध्यक्ष भीष्मराज बुढाथोकीले आफुहरु निर्वाचित भएर आए देखिनै पहिलो प्राथमिकतामा राखेर भुमिहीनलाई धनिपुर्जा उपलब्ध गराउने काममा लागेको बताउनुभयो ।

राष्ट्रिय भुमि आयोग उर्लाबारी सेवा केन्द्रको तथ्यांक अनुसार उर्लाबारी नगरपालिकामा रहेका ९ वटै वार्डबाट भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलनको कार्य पुर्ण रुपमा सकिएको छ । नगरपालिकाका प्रशासन योजना तथा अनुगमन शाखा अधिकृत मुरारी घिमिरेका अनुसार संकलित विवरणलाई कम्प्युटर सफ्टवेयर प्रणालीमा प्रविष्ट गर्ने कार्य अन्तिम चरणमा रहेको छ । यस्तै, नापजाँचसंग सम्बन्धित कार्यको लागि फिल्ड सर्भेक्षण लगायतका कार्यहरु सम्पन्न भई आवश्यक नापजाँचको तयारी भइरहेको घिमिरेले जनाउनुभयो । आयोगको कामलाई पुर्णता दिन तीन महिने कार्ययोजना बनाई वडा र नगरस्तरका सहजिकरण समितिले छलफल गर्नेपनि उहाँको भनाई छ । नगरमा प्रविष्ट भएका भूमीहीन दलित र भुमिहीन सुकुम्बासी एक हजार ७९ घर परिवार छन् भने अव्यवस्थित बसोबासीको संख्या तीन हजार आठ सय ८८ रहेको जनाइएको छ । अन्तरक्रिया कार्यक्रममा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोला, माओवादी केन्द्रका नगर अध्यक्ष गजेन्द्र दंगाल, कांग्रेस उर्लाबारीका सचिव राजन रायमाझी, जसपा नगर अध्यक्ष मात्रिका धिमाल, नगरपालिकाका ९ वटै वडाका जनप्रतिनिधिहरु लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय