उर्लाबारी । सरकारले आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै चुनाबी चर्चा परिचर्चा हुन थालेको छ ।
यसैक्रममा मोरङ क्षेत्र नं. १ मा नेकपा एमालेबाट तीन जनाको नाम अग्रपंक्तिमा देखिएको छ । वर्तमान सांसद घनश्याम खतिवडा, समानुपातिक सांसद डा. शिवमाया तुम्वाहाम्फे र गुरु बरालको नाम चर्चामा छ । खतिवडा २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त चुनाबी गठबन्धनबाट विजयी बन्नु भएको थियो । यस पटक पनि खतिवडाले नै प्रतिनिधिसभा उम्मेद्वारको टिकट हत्याउने धेरैले अड्कल काटेका छन् । स्थायी कमिटी सदस्य तुम्वाहाम्फे र गुरु बरालले पनि यस पटक मोरङ क्षेत्र नं. १ बाट उम्मेद्वार बन्ने आकांक्षा राखेको बुझिएको छ ।
कसले बाजी मार्ला ?
यस पटक पनि वर्तमान सांसद खतिवडा नै उम्मेद्वार बन्ने प्रवल सम्भावना रहेको बताइएको छ । खतिवडा शालिन नेताको रुपमा चित्रण गर्ने गरिएको छ । तुम्वाहाम्फेको पनि सम्भावना उत्तिकै रहेको जानकार स्रोत बताउँछ । बराल भने यस क्षेत्रका पाहुना उम्मेद्वार हुने भएकाले सम्भावना कमै रहेको बुझिएको छ । पूर्वमन्त्रीसमेत रहनुभएकी तुम्वाहाम्फेले मोरङ क्षेत्र नं. १ को विकासमा उपसभामुख तथा पटक पटक मन्त्री बन्दा पनि खासै काम नगरेको आरोप लाग्ने गरेको छ । यस अर्थमा पनि खतिवडा सशक्त उम्मेद्वार बन्ने धेरैको बुझाई छ ।























