उर्लाबारी नगरपालिकामा फोहोर संकलनको जिम्मा पाएका कम्पनीले नै खोलामा फोहोर फ्याँक्ने गरेको पाइएको छ । फोहोरमैला व्यवस्थापन ऐन–२०६८ मा नदी, खोलासँगै सार्वजनिक स्थलमा फोहोर फ्याँक्न निषेध गरिएको छ । तर, सो कानुन उल्लंघन गर्दै उर्लाबारी–४ को बक्राहा खोलामा जय श्री पाथिभरा इन्भाइरोमेन्ट केयरले फोहोर फ्याँकेको पाइएको छ ।
खोलामा फोहोर फालेको विषयमा स्थानीयबासीहरुले अर्को विरोध जनाएपनि हालसम्म सरोकारवाला निकायको ध्यान पुगेको छैन । उर्लाबारी नगरपालिकाको साझेदारीमा जय श्री पाथिभरा इन्भाइरोमेन्ट केयरले फोहोर ब्यवस्थापन गर्दै आएको छ । खोलामा सिधै फोहोर बगाउने गरेका कारण बक्राहा घाटलगायत क्षेत्रमा फोहोर थुप्रिएको छ । खोलामा फोहोर बगाएका कारण वातावरणमा पनि असर परेको परेको छ । उर्लाबारीको बजार, पसल तथा घरबाट उठाएको फोहोर ठेकेदार कम्पनीले खोलामा ल्याएर फ्याँकेर व्यवस्थापन नगर्दा समस्या भएको छ । ठेकेदार कम्पनीले खोलामा फोहोर फ्याँक्दा पनि उर्लाबारी नगरपालिका रमिते बन्नु दुर्भाग्य हो । फोहोर खोलामा फाल्दा बिभिन्न किसिमका रोगहरू चपेटामा पर्ने र खोलाले बगाएर लगेको फोहोरले मानिसलाई हानिकारक हुने गरेको छ । यस बिषयमा उर्लाबारी नगरपालिकाले छानविन गरी दोषीलाई कार्वाही गर्नु पर्ने देखिन्छ ।























