उर्लाबारी । प्रदेश नं.१ का स्वास्थ्य मन्त्री जयराम यादवलाई कालो झण्डा देखाउनेहरुप्रति नेकपा एमाले र जसपाका उर्लाबारी अध्यक्षले कडा चेतावनी दिएका छन् ।
उर्लाबारी—३ मंगलबारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ ओपिडि भवन उद्घाटन गर्न आउनुभएका स्वास्थ्य मन्त्री यादवलाई स्थानीय केही युवाहरुले कालो झण्डा देखाएका थिए । एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोलाले केही विकासविरोधीहरुले मन्त्रीलाई कालोझण्डा देखाएको भन्दै कडा प्रहार गर्नुभयो । भ्रष्टचार भएको भए छानविन गरेर अघि बढ्न एमाले तयार भएपनि मंगलबारेको विकास नचाहने तत्वहरुको चलखेलमा विरोध भएको उहाँको भनाई छ । त्यस्तै, जनता समाजवादी पार्टी उर्लाबारीका अध्यक्ष मात्रिका धिमालले पनि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको विकासमा लागि पर्ने मन्त्री यादबप्रति कालोझण्डा देखाउने कार्यप्रति विरोध जनाउनुभयो । भवन निर्माणमा अनियमितता भएको वा नभएको भन्ने विषयमा छानविन गरेर अघि बढ्न सक्ने अवस्था हुँदाहुँदै अराजक हर्कत गर्नु निन्दनीय भएको उहाँको भनाई छ ।























