उर्लाबारी । मोरङको उर्लाबारीमा यस पटक भब्य श्रीकृष्ण रथयात्रा निकालिने भएको छ । कृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात भदौ ४ गते निकालिने धार्मिक एवं ऐतिहासिक महत्व बोकेको रथयात्राको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
श्रीकृष्ण रथयात्रा व्यवस्थापन नगर समिति उर्लाबारीको आयोजनामा उर्लाबारी र आसपास क्षेत्रका २५ हजार भन्दा बढीको उपस्थितिमा रथयात्रा निकालिने पत्रकार सम्मेलनमा बताइएको छ । श्रीकृष्ण जन्माष्टमीका दिन बिहान पूजा आराधना, दिउँसो श्रीकृष्णको महिमा चरित्रको प्रवचन, साँझ भजन किर्तन प्रतियोगिता आयोजना गरिएको छ । भजन किर्तन प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई नगद ४ हजार, ३ हजार, २ हजार र १ हजारसहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष सुशीला गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार रथयात्रामा २५ हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।
साथै, रथयात्राको दिन विभिन्न समूहबाट सहभागिताको आधारमा पुरस्कृत गरिने आयोजक समितिका सचिव गजेन्द्र दंगालले बताउनुभयो । सहभागिताका आधारमा प्रथमलाई ४ हजार, दोस्रोलाई ३ हजार, तेस्रोलाई २ हजार र सान्त्वनालाई १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने उहाँको भनाई छ । भदौ ४ गते दिउँसो उर्लाबारी–७ स्थित राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्रा, स्कुलडाँडा, फागो टोल, हाटखोला, उर्लाबारी चौक, बरगाछी हुँदै पुनः राधाकृष्ण मन्दिरमा पुगेर समापन हुने सचिव दंगालले बताउनुभयो ।
रथयात्रा सम्पन्न गर्न करिब ३ लाख रुपैयाँ लाग्ने आयोजकले अनुमान गरेको छ । जसमा उर्लाबारी नगरपालिकाले १ लाख ५० हजार रुपैयाँ दिने र अन्य रकम धर्मप्रेमी महानुभावबाट संकलन गरिने समितिले जनाएको छ ।























