धरान / धरान उपमहानगरपालिकाले नगर क्षेत्रको नकुहिने फोहोर सामुदायिक वन क्षेत्रमा पर्ने सेउती खोलामा फाल्ने गरेको छ ।
त्यहाँ फालिएको फोहोर जलाउँदा निस्केको धुँवाका कारणले वरपरका स्थानीयहरु स्वास्थ्य समस्या भोगिरहेका छन् भने बाढी आएको समयमा बाढीले बगाएर तल्लो क्षेत्रका वस्तीमा फोहोर पुर्याउने गरेको छ । धरानका मेयर हर्क साम्पाङले धरानमा फोहोरको कुनै समस्या नभएको दावी गरिरहँदा धरानको फोहोरका कारण इटहरी र रामुधनी नगरपालिकाका वासिन्दाहरु पीडित बनिरहेका छन् ।
यसैबिच सामुदायिक वनले आफ्नो क्षेत्रमा फालिने फोहोरको राम्रो व्यवस्थापन नगरिएको भन्दै फोहोर फाल्न नदिने चेतावनी दिएको छ । बाझगरा सामुदायिक वनका उपाध्यक्ष कुमार भारतीले वनमा बनाइएको डम्पिङ साइटको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध फैलने, फोहोर डढाउँदा निस्कने दुषित धुवा वरपरका वस्तीमा फैलेर मानिसहरुलाई बिरामी बनाउने गरेको छ । आगोका कारण डढेलो फैलने र रुखहरु मर्ने गरेकोले वनलाई धेरै क्षती पुगिरहेकोले तत्काल धरान उपमहानगरपालिकाले त्यसको व्यवस्थापन गर्नुपर्ने बताए ।
वनमा फालिएको फोहोर व्यवस्थापन गर्न सामुदायिक वनले धरान उपमहानगरपालिकालाई धेरै पटक पत्रसहित ध्यानकर्षण गराउँदा पनि चासो नदिएको गुनासो भारतीले गरे । फोहोर जथाभावी छरिएर दुर्गन्धित हुने, रातको समयमा जंगली जनावरहरु फोहोर फालेको ठाउँमा खानेकुरा खोज्दै आइपुग्ने हुँदा गाउँघरमा आतंक सृजना हुनेलगायतका समस्याहरु पनि छन् । उनले भने, ‘चाँडै फोहोर व्यवस्थापन भएन भने हामी गाडी रोक्न बाध्य हुनेछौ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय