उर्लाबारी । मोरङ क्षेत्र नं. १ मा २०७४ मा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्रको बाम गठबन्धन बन्यो । कांग्रेस एक्लै निर्वाचनमा होमियो । बाम गठबन्धनले प्रदेशसभाअन्तरगत मोरङ क्षेत्र नं. १ क र ख दुबै सानदार मतका साथ जित्यो भने प्रतिनिधिसभामा पनि फराकिलो मतले जित्न सफल भयो ।
मोरङ क्षेत्र नं. १ क मा नेकपा माओवादी केन्द्रका कुलप्रसाद साम्बा लिम्बू (कुशल), ख मा नेकपा एमाले हाल नेकपा एकीकृत समाजवादीका उपेन्द्र घिमिरेले जित्नुभयो । त्यस्तै, प्रतिनिधिसभामा एमालेका घनश्याम खतिवडाले जित्नुभएको थियो । सो बेला वाम गठबन्धन यतिबेला छिन्नविन्न छ । तत्कालिन एमालेका बरिष्ठ नेता माधब नेपालको नेतृत्वमा पार्टी विभाजन गरी एकीकृत समाजवादी पार्टी खोलिएको छ भने माओवादी वाम गठबन्धनमा छैन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा एउटै कित्तामा उभिएका छन् । जनमोर्चाको पार्टी संगठन मोरङ क्षेत्र नं. १ मा छैन । एमालेसँग राप्रपासहितका दलले तालमेल गर्ने चर्चा छ । तर, अहिलेसम्म एमाले मोरङ क्षेत्र नं. १ मा एक्लै भिड्ने तयारीमा लागिसकेको छ । एमालेबाट प्रतिनिधिसभामा वर्तमान सांसद घनश्याम खतिवडा र डा. शिवमाया तुम्वाहाम्फेले आकांक्षा राखिरहनुभएको छ । गत निर्वाचनमा समानुपातिकबाट सांसद बन्नु भएकी डा. तुम्वाहाम्फेले उपसभामुख र मन्त्रीको समेत जिम्मेवारी निर्वाह गर्नुभयो । तर, खतिवडाले कुनै अवसर पाउनु भएन । खतिवडा र डा. तुम्वाहाम्फे दुबैको दाबी देखिएपछि कसले टिकट पाउँछ भन्ने विषय निकै चासोको साथ हेरिएको छ । त्यस्तै, नेपाली कांग्रेससहित गठबन्धनबाट नेपाली कांग्रेसका प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागो र मोरङ जिल्ला सभापति डिकबहादुर लिम्बूमध्ये एक प्रतिनिधिसभाको उम्मेद्वार बन्ने बताइन्छ । कांग्रेसबाट शोभा चेम्जोङ र माओवादीबाट चर्चित नेता बर्षमान पुनको नाम पनि चर्चामा छ । तर, नेता पुन उम्मेवार बन्ने सम्भावना नरहेको माओवादी स्रोतले बताएको छ ।
कस्तो छ सम्भावना
२०७९ को स्थानीय निर्वाचनमा पार्टीहरुको वडागत मत परिणाम अनुसार मोरङ क्षेत्र नं. १ मा गठबन्धन मजबुद देखिन्छ । एमाले ३२,३६६, कांग्रेस ३१,४१३, माओवादी ६,५८३, राप्रपा २,८९०,नेकपा एकीकृत समाजवादी १,०९३ र जसपा ४९४ मत देखिन्छ ।
गठबन्धनको पक्षमा ३९ हजार ५ सय ८३ मत देखिन्छ भने एमालेको पक्षमा ३२,३६६ छ । राप्रपासँग २,८९० मत छ । एमाले र राप्रपा मिल्दा पनि गठबन्धन नै मजबुत देखिन्छ । इमान्दारिताका साथ गठबन्धनमा मतदान भए मोरङ क्षेत्र नं. १ मा एमाले शून्य हुने पक्कापक्की छ ।
को को बन्लान् उम्मेद्वार ?
कांग्रेससहितको गठबन्धनबाट प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागो र मोरङ जिल्ला सभापति डिकबहादुर लिम्बूमध्ये एक उम्मेद्वार बन्ने बताइन्छ । सह–महामन्त्री फागो उर्लाबारी नगरपालिकाको निर्वाचनमा पराजित बनेपनि प्रभावशाली नेता मानिनुहुन्छ । जनमत राम्रो होल्ड गर्ने नेतामा फागोलाई लिने गरिएको छ । फागोको समर्थन भए गठबन्धनबाट लिम्बू एक्ला दाबेदार देखिनुहुन्छ । फागो प्रदेश वा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकमा रहेर लिम्बूलाई प्रतिनिधिसभाको निर्वाचनमा अघि बढाउन सक्ने सम्भावना रहेको जानकार स्रोत बताउँछ । त्यस्तै, एमालेमा एमालेबाट प्रतिनिधिसभामा वर्तमान सांसद घनश्याम खतिवडा र डा. शिवमाया तुम्वाहाम्फेले आकांक्षा राख्नुभएको छ । दुबै सांसद र ओलीनिकट नेताको रुपमा लिने गरिएको छ । यस पटक डा. तुम्वाहाम्फे मोरङ क्षेत्र नं. १ को एमालेबाट उम्मेद्वार बन्ने प्रवल सम्भावना रहेको बुझिएको छ ।
त्यस्तै, गठबन्धनबाट मोरङ क्षेत्र नं. १ क मा माओवादीका नेता वर्तमान सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) र ख मा नेकपा एकीकृत समाजवादीका नेता वर्तमान सांसद तथा सञ्चार तथा यातायात मन्त्री उपेन्द्र घिमिरे उम्मेद्वार बन्ने बुझिएको छ । प्रदेशसभा मोरङ क्षेत्र नं. १ क र ख दुबैमा कांग्रेसले पनि दाबी गरिरहेको छ । (क) मा चिञ्जिबी थापा, अर्जुन तुम्रोक, ललित अधिकारी, बीरबल थापालगायतको नाम अघि सारिएको छ भने (ख) मा शंकर राईलगायतको नाम चर्चामा छ । प्रतिनिधिसभा कांग्रेसले पाए प्रदेश सभामा माओवादी र एकीकृत समाजवादीको पोल्टामा जाने निश्चित छ ।
त्यस्तै, एमालेबाट मोरङ क्षेत्र नं. १ क मा जिल्ला सचिब रुपेश खतिवडा, उमाकान्त गौतम, पुष्प ढकालसहितको नाम अघि सारिएको छ । खतिवडा नै यस पटक एमालेबाट प्रदेश सदस्यको उम्मेद्वार बन्ने सम्भावना रहेको जानकार स्रोत बताउँछ । (ख) मा खड्ग बस्नेत र डिल्ली अधिकारीको नाम चर्चामा छ । यस पटक डिल्ली अधिकारी प्रदेशसभा सदस्यको उम्मेद्वार बन्ने सम्भावना रहेको बताइएको छ ।























