उर्लाबारी । प्रदेश नं. १ का यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले सहमति र सहकार्य गरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
पुनर्गठन दिवसको अवसरमा बिहीबार साँझ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) उर्लाबारीले गरेको दीप प्रज्वलन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सहमति, सहकार्य र एकताले मात्रै सफलता पाउने भएकाले अहंकारको भावना त्याग गर्नु जरुरी रहेको उहाँको भनाई छ । उहाँले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गरेर जाने पार्टीले निर्णय गरेको बताउँदै इमान्दारिताका साथ गठबन्धन अघि बढ्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य हर्कबहादुर तामाङ, केन्द्रीय सदस्य विद्या चाम्लिङ, प्रदेश कमिटी सदस्य बलबहादुर घिसिङ, मानबहादुर श्रेष्ठ, मनोहरि दाहाल, शान्ति पाख्रिनलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम अध्यक्ष ढकबहादुर थापा (डिबी) को सभापतित्वमा भएको थियो ।























