काठमाडौं । आज भाद्र कृष्ण औंसी अर्थात कुशे औंसी पर्व । आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ ।
सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्याउने गर्छन् । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् ।
कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुशे औंसी भन्ने गरिएको हो । आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ ।
आजका दिन बाबु नहुनेहरू भने काठमाडौँको उत्तरपूर्वी भेगस्थित वाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् । रसुवाको वेत्रावतीमा समेत आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्ने गरिन्छ ।
पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ । गोकर्णमा आज मेलासमेत लाग्छ ।
आज मोती जयन्ती मनाइँदै
नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)का दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका रूपमा मनाइने गरिएको हो ।
श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका भट्टले कथा, नाटक र निबन्धसमेतको रचना गरेका थिए ।
३० वर्षकै अल्पायुमा विसं १९५३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)कै दिन निधन भएका भट्टलाई माध्यमिककालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेता पनि मानिन्छ ।
थोरै बाँचेर पनि नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान दिएका भट्टले विसं १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र प्रकाशनमा ल्याएका थिए।























